असार महिनाको पनि १५ गते गईसक्यो । भर्खर पानी पर्न थालेपछि बारामा रोपाई शुरु हुन थालेको छ ।
यो बर्ष समयमै बर्षा नहुदा जिल्लाका अधिकांश स्थानहरुमा धान रोपाई कार्य ढिलाई भएको हो । जिल्लामा समयमा बर्षात नहुँदा अहिलेसम्म करिब १० प्रतिशत मात्र रोपाई भएको छ । यस वर्ष मनसुन ढिला भएर भित्रिएपछि असारको दोस्रो सातासम्म पनि करिब ९० प्रतिशत खेत बाँझै छन् ।
गत वर्ष असारको दोस्रो सातासम्म करिब ३५ प्रतिशत रोपाइँ भइसकेको थियो । भने अहिले भने यसवर्ष १० प्रतिशत मात्र धान रोपाई भएको छ । वर्षा ढिला हुँदा रोपाइँ ढिला भएको कृषि ज्ञान केन्द्र बाराका सूचना अधिकारी रामजिवन ठाकुरले बताएका छन । गत वर्ष समयमै वर्षा सुरु भएकाले असारको दोस्रो सातासम्म बारामा ३५ प्रतिशत रोपाइँ सकिएको सूचना अधिकारी ठाकुरले बताए ।
बारामा रहेका १६ वटा पालिकाहरुमा करिव ४५ हजार हेक्टर जमिनमा धान खेती हुने गरेको छ । जसमध्ये हालसम्म करिव साढे ४ हजार हेक्टरमा मात्रै धान रोपिएको छ ।
जिल्लामा सोना मन्सुली जातको धान राम्रो उत्पादन हुने गरेको छ । पछिल्लो समय जिल्लामा भदैया, अघनी,सावित्री, लाल वास्मती, हर्दीनाथ, हाईव्रीडहरु जातको धान खेती भइरहेको ज्ञान केन्द्रले जनाएको छ ।