कलैया,८ असार
नेपाल प्रेस युनियन बारा शाखाले नेपाल चिकित्सक संघ, नारायणी शाखाले सार्वजनिक गरेको प्रेस विज्ञप्तिलाई भ्रामक, एकपक्षीय र तथ्यविपरीत भएको आरोप लगाउँदै त्यसप्रति कडा आपत्ति जनाएको छ।
युनियनले जारी गरेको विज्ञप्तिअनुसार पत्रकार श्यामबाबु प्रसाद यादव र डा. चन्द्रभूषण यादवबीच भएको विवाद जिल्ला प्रहरी कार्यालय बारामा दुवै पक्षको उपस्थितिमा छलफल गरी आपसी सहमतिमार्फत समाधान भइसकेको थियो। सोही सहमतिअनुसार डा. चन्द्रभूषण यादवले आफ्नो व्यवहारप्रति आत्मालोचना गर्दै क्षमायाचना गरेका थिए।
युनियनका अनुसार सहमतिको अर्को महत्वपूर्ण बुँदाअनुसार चिकित्सकको प्रतिष्ठामा थप असर नपरोस् भन्ने उद्देश्यले Sajhedari Daily को फेसबुक पेजमा प्रकाशित अडियो सामग्री समेत हटाइएको थियो। त्यसपछि पनि समाधान भइसकेको विषयलाई पुनः एकपक्षीय रूपमा सार्वजनिक गरी पत्रकारको चरित्रमाथि प्रश्न उठाउने प्रयास गरिएको भन्दै युनियनले त्यसको कडा विरोध गरेको छ।
प्रेस युनियन बाराले चिकित्सक संघको विज्ञप्तिले वास्तविक घटनाक्रम लुकाएर पत्रकारमाथि अनावश्यक आरोप लगाउने, सञ्चारकर्मीको पेशागत प्रतिष्ठामा आँच पुर्याउने तथा प्रेस स्वतन्त्रताको मर्ममाथि प्रहार गर्ने काम गरेको जनाएको छ।
युनियनले सत्य, निष्पक्ष र जिम्मेवार पत्रकारिताप्रति आफ्नो प्रतिबद्धता दोहोर्याउँदै कुनै पनि असहमति वा गुनासो भए कानुनी तथा संस्थागत प्रक्रियामार्फत समाधान खोज्नुपर्नेमा जोड दिएको छ। साथै अपुष्ट, एकपक्षीय र भ्रामक सूचना सार्वजनिक गरेर समाजमा भ्रम फैलाउने कार्य नगर्न सम्बन्धित सबै पक्षलाई आग्रह गरेको छ।
नेपाल प्रेस युनियन बारा शाखाले तथ्यलाई तोडमरोड गरी पत्रकारको प्रतिष्ठामाथि प्रहार गर्ने कुनै पनि प्रयास स्वीकार्य नहुने स्पष्ट पार्दै यस्ता गतिविधि दोहोरिए आवश्यक कानुनी र संस्थागत कदम चाल्न बाध्य हुने चेतावनी समेत दिएको छ।





