राकेश भक्त पौडेल मृत्यु प्रकरणको अनुसन्धान सुस्त , स्थानीयले प्रहरीलाई गति बढाउँन दबाब

गढीमाईखवर डट कम
521 पाठक संख्या

रञ्जन यादब
बारा १७ जेठ
राकेश भक्त पौडेल मृत्यु प्रकरणमा अनुसन्धानमा ढिलाई भईरहेको भन्दै घट्नाको सत्यतथ्य बाहिर निकाल्न स्थानीयले प्रहरीलाई दबाब दिएका छन् । जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.६ का ३८ वर्षीय राकेशभक्त पौडेलको हत्याको घटनामा प्रहरीले ढिलो गरी अनुसन्धान थालेपछि स्थानीयले दबाव दिने मानस्कितामा पुगेका हुन् ।

उपमहानगरको नगर प्रमुख -मेयर), उपप्रमुख (उप मेयर), राजनीतिक दलका प्रतिनिधि, उद्योगी, व्यवसायी, शिक्षकसहितको टोलीले हत्याको १९ दिनपछि दोषीलाई कारबाहीको माग गर्दै ईलाका प्रहरी कार्यालय, सिमरामा ध्यानाकर्षण गराएका हुन् ।

अनुसन्धान ढिलो गरिनुले प्रहरी दबाव र प्रभावमा परेको स्थानीयको आरोप छ । आक्रोशित स्थानीयले प्रहरी कार्यालय घेराउ, राजमार्गमा चक्काजाम गर्ने स्थिति बनेपछि राजनीतिक दलको सक्रियतामा सर्वपक्षीय समिति बनाइएका हुन् ।सर्वपक्षिय बैठकका सहभागीले प्रहरीले अनुसन्धानमा तदारुकता नदेखिाएकोप्रति शंका व्यक्त गरेका छन् ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिका-६ का ३८ वर्षीय राकेशभक्त पौडेलको मृत्युको घटना अनुसन्धानका लागि प्रहरीले ९ जनालाई पक्राउ गरेको छ ।प्रहरीले जीतपुरसिमरा-६ कै १६ वर्षीया किशोरी, १७ वर्षका किशोर, ४३ वर्षका चित्रबहादुर केसी, २४ वर्षका सुमन योञ्जन, २६ वर्षका सन्दीप थापा, २८ वर्षका सन्तोष खत्री, ४० वर्षका खगेन्द्र रिजाल, ३५ वर्षका उद्धव अधिकारी र ३२ वर्षका कुमार मगरलाई पक्राउ गरेको हो ।

१६ वर्षीया किशोरी, खगेन्द्र, चित्रबहादुर, खगेन्द्र, उद्धव अधिकारी र सन्तोष खत्रीलाई कर्तव्य ज्यान मुद्दामा अनुसन्धानका लागि हिरासतमा राख्न प्रहरीले अदालतबाट अनुमति लिइसकेको छ भने अरुलाई अदालत पेश गर्न बँँकी रहेको प्रहरीले जनाएको छ ।

मृतकको परिवारले ५ जना विरुद्ध कर्तव्य ज्यान मुद्धामा किटानी जाहेरी दिएको थियो । तर थप ४ जनामाथि पनि अनुसन्धान गर्नुपर्ने देखिएकाले उनीहरुलाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।

वैशाख ३० मा नेकपा (माओवादी केन्द्र)को तर्फबाट वडा ६ को वडा सदस्य पदको उम्मेदवारी दिएका चित्रबहादुरको घरमा पौडेलको मृत्यु भएको थियो । पौडेलको मृत्यु भएको दिन चित्रबहादुर के.सि.को घरमा बैशाख २९ गते जमघट र भोजभतेर थियो ।

साझा गर्नुहोस्