महागढीमाई नगरपालिकाका मेयरमाथि बहुविवाहको आरोप, राज्य संयन्त्र मौन रहेको भन्दै आलोचना

गढिमाइ खबर
294 पाठक संख्या


‎बारा — महागढीमाई नगरपालिकाका मेयर उपेन्द्र प्रसाद यादवमाथि बहुविवाह गरेको आरोप लागेपछि स्थानीय तहमा चर्को बहस सुरु भएको छ। स्थानीयवासी तथा सामाजिक अभियन्ताहरूले मेयर यादवले खुलेआम बहुविवाह गरेको भए पनि जिल्ला प्रशासन र सम्बन्धित राज्य निकायहरू मौन बसेको भन्दै आपत्ति जनाएका छन्।

‎नेपालको प्रचलित कानुनअनुसार बहुविवाह दण्डनीय अपराध भए पनि यस विषयमा हालसम्म कुनै औपचारिक अनुसन्धान वा कानुनी प्रक्रिया अघि नबढाइएको आरोप स्थानीयको छ। उनीहरूका अनुसार जनप्रतिनिधिबाटै कानुन उल्लङ्घन भएको आशंका उठ्दा समेत राज्य उदासीन देखिनु दुःखद र चिन्ताजनक अवस्था हो।

‎स्थानीय नागरिक समाजका प्रतिनिधिहरूले कानुन सबैका लागि समान हुनुपर्ने भन्दै घटनाको निष्पक्ष छानबिन र आवश्यक कानुनी कारबाहीको माग गरेका छन्। “सामान्य नागरिकले यस्तो कार्य गरे तुरुन्त कारबाही हुन्छ भने जनप्रतिनिधिका हकमा किन ढिलासुस्ती?” भन्ने प्रश्न उनीहरूले उठाएका छन्।

‎यस विषयमा मेयर उपेन्द्र प्रसाद यादवसँग प्रतिक्रिया लिन खोज्दा सम्पर्क हुन नसकेको बताइएको छ। साथै जिल्ला प्रशासन कार्यालय र प्रहरी प्रशासनले पनि हालसम्म औपचारिक धारणा सार्वजनिक गरेका छैनन्।

‎स्थानीयवासीहरूले घटनाको सत्यतथ्य छानबिन गरी कानुनअनुसार कारबाही गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।

साझा गर्नुहोस्