फेटा गाउँपालिकाले सुरु गर्‍योे हैजा विरुद्ध जनचेतना अभियान

गढिमाइ खबर
131 पाठक संख्या पढ्न लाग्न समय 2 मिनेट
पढ्न लाग्न समय 2 मिनेट

कलैया : छिमेकी पर्सा जिल्लाको वीरगञ्ज महानगरमा फैलिएको हैजा महामारीलाई दृष्टिगत गर्दै बाराको फेटा गाउँपालिकाले हैजा विरुद्ध जनचेतना अभियान सुरु गरेको छ।

गाउँपालिकाले “हैजा तथा झाडापखाला लगायत पानीजन्य रोगबाट बच्न स्वस्थ व्यवहार अपनाऔँ” भन्ने मूल नारा सहित बिहीबारदेखि हैजा विरुद्ध सचेतना अभियान गाउँपालिकाको सबै वडामा सञ्चालन गरेको हो।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राकेश ओझाका अनुसार गर्मी तथा वर्षायाममा झाडापखाला र हैजा जस्ता रोग फैलने सम्भावना बढी हुने भएकाले सावधानी र सतर्कता अपनाउन अभियान गरिउको हो।

पेट दुख्ने, वाकवाकी वा बान्ता हुने, असाध्यै तिर्खा लाग्ने तथा पातलो दिसा हुने हैजाको मुख्य लक्षण हो। अभियानमा स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविकाहरु जुटेका छन्। उनीहरु घरमै गर्न सकिने उपचारबारे जानकारी दिइरहेका छन्। पखाला लागेमा एक लिटर सफा पानीमा एक पुरिया जीवनजल घोलेर पटक–पटक खान दिनुपर्ने जानकारी अभियानको क्रममा दिइएको छ।

प्रशस्त मात्रामा सफा तथा तरल पदार्थ सेवन गराउनुपर्ने बताइएको छ। सजिलोसँग पच्ने नरम खाना थोरै–थोरै गरेर दिनुपर्ने जानकारी समेत सर्वसाधारणलाई दिइदैछ। स्वास्थ्यकर्मीको सिफारिस अनुसार जिड्डू चक्की सेवन गराउनुपर्ने र व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिनुपर्ने सुझाव उनीहरुले दिएका छन।

बिरामीले खानपिन गर्न नसक्ने अवस्था आएमा, दिसामा रगत देखिएमा, बारम्बार बान्ता भइरहेमा, अत्यधिक तिर्खा लागेमा, ज्वरो आएमा वा धेरै पटक पातलो दिसा भएमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा लैजान सुझाव समेत फेटाका नागरिकलाई दिइएको छ।

अभियानमा स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका तथा स्थानीय सरोकारवालाको सक्रिय सहभागिता रहेकोे छ।

साझा गर्नुहोस्