डुमरवानामा रहस्यमय अवस्थामा युवकको शव फेला,मृत्युको कारण अझै अज्ञात

गढिमाइ खबर
111 पाठक संख्या

बारा/कार्तिक
जीतपुरसिमरा उपमहानगरपालिका–१५ डुमरवानास्थित पुरानो बस्तीमा ३० वर्षीय वीरेन्द्र माझीको शव खेतको कुलोमा फेला परेको छ। शुक्रबार साँझ घरबाट निस्किएका माझी शनिबार बिहान मृत अवस्थामा भेटिएपछि घटनाले स्थानीय क्षेत्रमा चासो र आशंका बढाएको छ।स्थानीयले खेतको कुलोमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटनास्थलमा मृतकले प्रयोग गर्ने साइकल र एउटा झोलासमेत भेटिएको छ। पेसाले ट्याक्टर चालक रहेका माझी घरबाट निस्किएपछि कसरी कुलोसम्म पुगे र उनको मृत्यु कसरी भयो भन्ने विषय खुल्न सकेको छैन।
सूचना पाएलगत्तै प्रहरी चौकी डुमरवाना र इलाका प्रहरी कार्यालय सिमराबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरी निरीक्षक दिवस कुँवरको नेतृत्वमा पुगेको टोलीले घटनास्थलको अवस्था निरीक्षण गरी अनुसन्धान प्रक्रिया अघि बढाएको छ।
इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक दयाकृष्ण भट्टले घटनाको विभिन्न पक्षबाट अनुसन्धान भइरहेको बताएका छन्। मृतकको मृत्यु दुर्घटना, अन्य कुनै कारण वा घटनासँग सम्बन्धित हो भन्नेबारे प्रहरीले अहिलेसम्म निष्कर्ष सार्वजनिक गरेको छैन।
घटनाको वास्तविक कारण पत्ता लगाउन प्रहरी अनुसन्धानमा जुटेको छ।

साझा गर्नुहोस्