गरिमा मृत्यु प्रकरणमा प्रहरीको अनुसन्धान तीव्र : बारा प्रहरीद्वारा नौ जना पक्राउ

गढिमाइ खबर
37 पाठक संख्या

जीतपुर । तीन वर्षीया गरिमा चौधरीको मृत्यु प्रकरणमा प्रहरीले अनुसन्धानको घेरा फराकिलो बनाएको छ। घटनाको विभिन्न कोणबाट अनुसन्धान गर्ने क्रममा प्रहरीले हालसम्म नौ जनालाई नियन्त्रणमा लिएर उनीहरूको भूमिकाबारे सोधपुछ गरिरहेको छ।

जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरस्थित खाली घरमा भदौ २ गते बालिकाको शव भेटिएपछि जिल्ला प्रहरी कार्यालय बाराले अपहरण तथा शरीर बन्धक, जबरजस्ती करणी र कर्तव्य ज्यानसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको हो।

अनुसन्धानको सुरुवाती चरणमै जीतपुरसिमरा–१ का २४ वर्षीय प्रोग्रेस भन्ने पुरग्रेश चौधरी र १६ वर्षीय एक बालक नियन्त्रणमा परेका थिए। अनुसन्धानका क्रममा थप तथ्य खुलेपछि भदौ ६ गते ५० वर्षीय इन्द्रजित चौधरी, २५ वर्षीया पुष्पा चौधरी, २६ वर्षीया ममता चौधरी, ४५ वर्षीय शेख हसमुदिन आलम, ४० वर्षीय टेकबहादुर थापा मगर र जीतपुरसिमरा–२ का ३३ वर्षीय नविन विकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

भदौ ७ गते १४ वर्षीय अर्का बालकलाई समेत नियन्त्रणमा लिएपछि हिरासतमा रहेका व्यक्तिको संख्या नौ पुगेको हो। नाबालकको पहिचान भने कानुनी व्यवस्थाअनुसार प्रहरीले सार्वजनिक गरेको छैन।

पक्राउ परेकाहरूमाथि जिल्ला अदालत बाराबाट पहिलो चरणमा चार दिन र त्यसपछि थप पाँच दिनको म्याद लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका सूचना अधिकारी डीएसपी मिनबहादुर घलेले जानकारी दिए।

प्रहरीले घटनासँग सम्बन्धित प्रमाण संकलन, नियन्त्रणमा लिइएकाहरूको आपसी सम्बन्ध तथा घटनामा उनीहरूको सम्भावित भूमिकाबारे अनुसन्धान गरिरहेको जनाएको छ। घटनापछि स्थानीयस्तरमा बढेको आक्रोशबीच प्रहरीले अनुसन्धानबाट प्राप्त तथ्यका आधारमा थप प्रक्रिया अघि बढाउने बताएको छ।

साझा गर्नुहोस्