नागरिकता किर्ते प्रकरणमा वीरगञ्जका मेयर सिंहविरुद्ध चार मुद्दा

गढिमाइ खबर
71 पाठक संख्या

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा वीरगञ्ज महानगरपालिकाका मेयरराजेशमान सिंह विरुद्ध चार वटा मुद्दा दर्ता भएका छन्। जिल्ला सरकारी वकिलको कार्यालय पर्साले बिहीबार मेयर सिंहसहित चार जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियोे।

पर्सा जिल्ला अदालतका श्रेस्तेदार प्रभाकरकुमार मल्लिकका अनुसार लिखत किर्तेसम्बन्धी दुई र नागरिकता किर्तेसम्बन्धी दुई गरी चार वटा मुद्दा दर्ता भएका हुन्। अदालतका अनुसार केही प्रतिवादीको नाम परिवर्तन गरिएको छ भने मुद्दामा मेयरसँगै एक वडाध्यक्षलाई पनि प्रतिवादी बनाइएको छ।

मेयर सिंहले अर्काकी छोरीलाई आफ्नै छोरीका रूपमा देखाई किर्ते जन्मदर्ता तयार गराएको तथा सोही कागजातका आधारमा नागरिकता, राहदानीलगायत सरकारी प्रमाणपत्र बनाइदिएको आरोप लगाइएको छ।

जिल्ला सरकारी वकिल कार्यालय पर्साका सूचना अधिकारी अनन्तराज न्यौपानेले मेयर सिंहविरुद्ध मुद्दा दायर गरिएको पुष्टि गरेका छन्। लिखत किर्तेसम्बन्धी एक मुद्दामा वडाध्यक्ष भिखारी राय यादव लाई पनि प्रतिवादी बनाइएको अदालत स्रोतले जनाएको छ।

यो प्रकरण २०८० माघमा वीरगञ्ज छपकैया निवासी लियाकत मियाँ ले जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दिएपछि सुरु भएको थियो। प्रहरीबाट अनुसन्धान अघि नबढेपछि उनले उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जमा रिट दायर गरेका थिए। त्यसपछि अदालतले गत पुस १४ गते आवश्यक अनुसन्धान गर्न परमादेश जारी गरेको थियो।

अदालतको आदेशपछि जिल्ला प्रहरी कार्यालय पर्साले अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको थियो। सोही प्रतिवेदनका आधारमा चार वटा मुद्दा दर्ता गरिएको सरकारी वकिल कार्यालयले जनाएको छ।

उजुरी दर्ता हुँदा पर्सा प्रहरी प्रमुखका रूपमा कोमल साह कार्यरत थिए। त्यसपछि कुमोद ढुंगेल र गौतम मिश्र ले पर्सा प्रहरीको नेतृत्व सम्हालेका थिए। हाल सुदीपराज पाठक पर्सा प्रहरी प्रमुख छन्।

साझा गर्नुहोस्