सडक अतिक्रमण हटाउन जीतपुरसिमरा–६ मा अभियान सुरु

गढिमाइ खबर
29 पाठक संख्या

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ६ कार्यालयले सडक क्षेत्रमा राखिएका निर्माण सामग्री तथा अन्य अवरोध हटाउने अभियान सुरु गरेको छ। वडा कार्यालयले केही दिनअघि सार्वजनिक सूचना जारी गर्दै सडक र सडक छेउमा राखिएका सामग्री हटाउन आग्रह गरेको थियो ।

वडा अध्यक्ष कैमुदिन अंसारीका अनुसार मुख्य तथा भित्री सडकहरूमा ढुंगा, इँटा, गिटी, बालुवा लगायतका निर्माण सामग्री राख्ने, पशुचौपाया बाँध्ने, सवारी साधन सडकमै पार्किङ गर्ने तथा अन्य अव्यवस्थित गतिविधिका कारण सर्वसाधारणलाई आवतजावतमा समस्या हुँदै आएको थियो। यस्ता गतिविधिले दुर्घटनाको जोखिम बढ्नुका साथै सडक र बस्तीको सौन्दर्यमा समेत असर परेको भन्दै वडा कार्यालयले अभियान अघि बढाएको जनाएको छ ।

तोकिएको समयभित्र सामग्री नहटाइएपछि अहिले नगर प्रहरीसहितको टोली परिचालन गरी सडक क्षेत्रमा राखिएका निर्माण सामग्री हटाउने कार्य सुरु गरिएको वडा अध्यक्ष अंसारीले बताए।

एकचोटिकोलागि चेतावनी दिई छोडिएको तर पनि अटेरी गर्दै राखिएको खण्डमा हटाइएको सामग्री व्यवस्थापनमा लागेको खर्च सम्बन्धित व्यक्तिबाट असुल गरिने र नियम अनुसारको कार्बाही प्रक्रिया पनि अघि बढाउँने चेतावनी समेत वडा कार्यालयले दिएको छ।

साझा गर्नुहोस्