वीरगञ्ज,१ बैशाख ।
पर्सा प्रहरीले विकासकुमार चौरसियाको हत्या प्रकरणमा संलग्न रहेको आरोपमा चार जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साले आज जारी गरेको प्रेस विज्ञप्तिअनुसार पक्राउ पर्नेहरूमा रौतहटको माधवनारायण नगरपालिका–१ घर भई हाल वीरगञ्ज महानगरपालिका–११ मा फिरोज मियाँको घरमा डेरा गरी बस्दै आएका २६ वर्षीय सन्तोष साह, उनकी २४ वर्षीया श्रीमती सोनी कुमारी, बाराको महागढीमाई नगरपालिका–७ बेनौलीका १९ वर्षीय विशाल साह र भारत उत्तर प्रदेश अलीगढका २१ वर्षीय ओमबीर प्रजापति रहेका छन्।
पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–११ रानीघाटस्थित फिरोज मियाँको जस्ताले छाएको पक्की घरमा कालिकामाई गाउँपालिका–१ मुडलीका २८ वर्षीय विकास कुमार चौरसियाको हत्या भएको हो।
प्रहरीका अनुसार विवाहेतर सम्बन्धको आशंकामा योजनाबद्ध रूपमा घटना गराइएको हो। आरोपितहरूले भारतीय नागरिकको समेत सहयोगमा चौरसियालाई कोठामा बोलाउन श्रीमतीमार्फत फोन गराएका थिए। कोठामा पुगेपछि उनीमाथि टाउको तथा शरीरका विभिन्न भागमा फलामको छड र धारिलो फलामजन्य गल प्रहार गरी गम्भीर घाइते बनाइएको थियो।
घटनापछि जिल्ला प्रहरी कार्यालय पर्सा तथा वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको टोलीले घाइते चौरसियालाई तत्काल उद्धार गरी उपचारका लागि नारायणी अस्पताल, वीरगञ्ज पठाएको थियो। तर, उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
प्रहरीले घटनाको सूक्ष्म अनुसन्धान गरिरहेको जनाएको छ।घटनास्थलबाट सिसिटिभी फुटेज, भिडियो तथा अन्य प्रमाण संकलन गरिएको छ भने सिडिआर विश्लेषणबाट समेत घटनामा संलग्नताको पुष्टि भएको प्रहरीले जनाएको छ।
प्रेम सम्बन्ध तथा रिस–आवेगका कारण घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ। पक्राउ परेका चारै जनामाथि ज्यानसम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको छ।









