कलैया, ६ चैत/
नेपाली कांग्रेस प्रतिनिधि सभा क्षेत्र नं. ३ मा आन्तरिक विवाद चुलिँदै गएको छ। क्षेत्रीय सभापति प्रभात कुमार चौरसियाविरुद्ध ६७ प्रतिशतभन्दा बढी क्षेत्रीय प्रतिनिधिहरूले अविश्वास प्रस्ताव दर्ता गरेपछि उनी सभापति पदमा नरहेको दाबी गरिएको छ।
कार्यवाहक सभापति हरि प्रवेश यादवद्वारा जारी प्रेस विज्ञप्तिअनुसार, पार्टीलाई नोक्सान पुर्याउने गतिविधि तथा षडयन्त्रमा संलग्न रहेको आरोपमा चौरसियाविरुद्ध कडा कदम चालिएको हो। विज्ञप्तिमा उल्लेख भएअनुसार, सभापतिको पदमै नरहेको व्यक्तिले विभिन्न नेताहरूलाई कारबाही सिफारिस गर्दै सार्वजनिक पत्र जारी गर्नुले पार्टी संगठनमा थप क्षति पुगेको ठहर गरिएको छ।
चौरसियाले मिति २०८२ फागुन १८ र २३ गते जिल्ला कार्यसमितिका सभापति राजेश राय यादव, प्रतिनिधि सभा क्षेत्र नं. २ का सभापति राम प्रवेश यादव लगायत १६ जनालाई कारबाहीको सिफारिस गरेको पत्र सार्वजनिक गरेका थिए। सो कदमलाई संगठनविरुद्धको गतिविधि ठहर गर्दै उनलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्न सिफारिस गरिएको जनाइएको छ।
यसैबीच, फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा क्षेत्र नं. ३ मा नेपाली कांग्रेसका उम्मेदवार फरमुल्लाह मंसुरको पराजयलाई लिएर पनि विवाद बढेको छ। विज्ञप्तिमा चुनावी हारको जिम्मेवारी कुनै एक व्यक्ति वा समूहलाई सार्वजनिक रूपमा थोपर्ने कार्य बन्द गर्न आग्रह गरिएको छ।
यद्यपि, आवश्यक परे उम्मेदवारकै व्यक्तिगत व्यवहार, आचरण, जीवनशैली र चरित्रमाथि समीक्षा गरी हारको वास्तविक कारण पत्ता लगाउनुपर्ने धारणा पनि व्यक्त गरिएको छ। मंसुरले १०,०५२ मत (रुख चिन्ह) प्राप्त गर्दा उनका प्रतिस्पर्धीले ४०,६९७ मत (घण्टी चिन्ह) ल्याएका थिए, जसले ३०,६४५ मतान्तरको फराकिलो हार देखाएको छ।
पार्टीभित्रको आन्तरिक द्वन्द्व र सार्वजनिक आरोप–प्रत्यारोपले संगठन कमजोर बन्दै गएको भन्दै नेताहरूबीच एकता र आत्मसमीक्षाको आवश्यकता औंल्याइएको छ।









