कलैया,२३ चैत ।
नेपालमा अब बैंक तथा वित्तीय संस्थाहरू सातामा पाँच दिन मात्र सञ्चालन हुने भएका छन्। नेपाल सरकारको निर्णयअनुसार शनिबार र आइतबार सार्वजनिक बिदा लागू भएपछि बैंकिङ क्षेत्रले पनि सोही व्यवस्था अपनाएको हो।
नेपाल राष्ट्र बैंकले गभर्नरस्तरीय निर्णयमार्फत चैत २२ गतेदेखि लागू हुने गरी बैंक तथा वित्तीय संस्थाहरू सोमबारदेखि शुक्रबारसम्म मात्र खुल्ने व्यवस्था गरेको छ। यससँगै बैंकिङ कारोबार समय बिहान ९ बजेदेखि अपरान्ह ४ बजेसम्म कायम गरिएको छ।
सोमबारदेखि नै देशभरका बैंक तथा वित्तीय संस्थाहरूले नयाँ समय तालिका अनुसार सेवा दिन सुरु गरिसकेका छन्।
सरकारले मन्त्रिपरिषद् बैठकमार्फत शनिबार र आइतबार बिदा दिने तथा शुक्रबार पूर्ण समय सेवा सञ्चालन गर्ने निर्णय गरेको थियो। उक्त निर्णय नेपाल राष्ट्र बैंकमार्फत केन्द्रीय बैंक तथा मातहतका सबै संस्थाहरूमा लागू गरिएको छ।
केन्द्रीय बैंकले आफ्ना कार्यालयहरूको समय सोमबारदेखि शुक्रबारसम्म बिहान ९ बजेदेखि अपरान्ह ५ बजेसम्म तोकेको छ। तर, कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म भने कार्यालय समय एक घण्टा घटाएर बिहान ९ बजेदेखि अपरान्ह ४ बजेसम्म कायम गरिनेछ।
त्यस्तै, बैंकिङ कारोबार समय पनि सोही अवधिमा परिवर्तन हुनेछ। कात्तिक १६ देखि माघ १५ सम्म बैंकिङ कारोबार बिहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म मात्र सञ्चालन हुनेछ भने अन्य समयमा भने बिहान ९ बजेदेखि अपरान्ह ४ बजेसम्म सेवा उपलब्ध हुनेछ।





