देशका विभिन्न क्षेत्रमा भारी वर्षा र तीव्र हुरीको चेतावनी, सतर्क रहन आग्रह

गढिमाइ खबर
104 पाठक संख्या

गढीमाईखबर डेस्क

काठमाडौं, ५ चैत/

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले देशका विभिन्न क्षेत्रमा आगामी केही दिन भारी वर्षा, हिमपात तथा तीव्र हुरी चल्ने सम्भावना रहेको भन्दै सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

प्राधिकरणले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार जल तथा मौसम विज्ञान विभागले कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आगामी तीन दिनसम्म भारी वर्षा र हिमपात हुने पूर्वानुमान गरेको छ। साथै, दाङ, नेपालगञ्ज र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा तीव्र गतिमा हुरी चल्ने सम्भावना रहेको जनाइएको छ।

यसैगरी, शनिबारसम्म विराटनगर, धनकुटा र धरान आसपासका जिल्लामा प्रतिघण्टा ११९ किलोमिटरसम्मको वेगमा हुरी चल्न सक्ने अनुमान गरिएको छ। यस्तो हुरीका कारण रुख ढल्ने, कमजोर संरचनामा क्षति पुग्ने तथा विद्युत् र सञ्चार सेवा अवरुद्ध हुने जोखिम रहेको विभागले जनाएको छ।

प्राधिकरणका उपसचिव रामबहादुर केसीले जोखिमयुक्त क्षेत्रका बासिन्दा तथा यात्रुलाई अनावश्यक यात्रा नगर्न, सुरक्षित स्थानमा बस्न, घरभित्रका इन्धन तथा विद्युतीय उपकरण सावधानीपूर्वक प्रयोग गर्न र सवारी साधन सञ्चालन गर्दा विशेष ध्यान दिन आग्रह गर्नुभएको छ।

विभागले नियमित रूपमा मौसम पूर्वानुमान र सतर्कता सूचना जारी गरिरहेको भन्दै सबैलाई आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ।

साझा गर्नुहोस्