संदिप प्रसाद यादव/
विजया दशमी, दिपावली र छठ पर्वहरु सहितका चाडपर्वलाई लक्षित गरी बारा प्रहरी विशेष सुरक्षा योजना बनाएको छ ।
विभिन्न चाडपर्वमा सर्वसाधारणको सुरक्षा तथा सहजीकरणका लागि क्यूआरटी टोली,मोबाइल गस्तीदेखि ४ ठाँउमा यात्रु सहायता कक्ष सञ्चालन सहितका प्रहरी टोली परिचालन गर्ने भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख एवम् प्रहरी उपरिक्षक सुरेश प्रसाद काफ्लेले बताए।
विभिन्न पर्वहरु सहितका चाडपर्वमा चोरी, डकैती लुटपाट र दुर्घटना लगायतका घटना भएको हुनाले विशेष सुरक्षा योजना तयार पारिएको बारा प्रहरीका प्रमुख एवम् प्रहरी उपरीक्षक काफ्लेले जानकारी दिए ।
उनले भने जिल्लाको विभिन्न ५१ ठाँउमा विशेष चेकजाँज,प्रत्येक दिन कम्तिमा ५० वटा गस्ती टोली परिचालन,४ ठाँउमा यात्रु सहायता कक्ष सञ्चालन,साईकल गस्तीको सुरूवात,सादा पोसाकमा जनशक्ति परिचालन,सिमानाकामा विशेष निग्रानी, सवारी साधन चेकजाँचमा कडाई, यात्रु भाडामा निरन्तर अनुगमन, धर्मिक कार्यहरुमा सुरक्षार्थ प्रहरी,जनशक्तिको अनिवार्य परिचालनको व्यवस्था, प्रत्येक दिन बाराको ठाउँ ठाउँमा सर्पराइज चेकिङ्ग गर्ने मुख्य योजना रहेको बताए ।
चाडपर्वको समयमा आफ्नो गन्तव्य तर्फ जाने यात्रुहरूले भोग्ने गरेको समस्यालाई न्यूनीकरण गर्ने उद्देश्यका साथ सञ्चालनमा ल्याइएको सहायता कक्षबाट यात्रुहरुले लाभ लिने प्रहरी उपरीक्षक काफ्ले ले बताए ।
उनले समस्या परेको खण्डमा सोझै यात्रु सहायता कक्षामा पुगेर त्यहाँ खटाइएका प्रहरी प्रतिनिधिलाई सम्पर्क गर्न यात्रुहरूसँग पनि आग्रह गरेका छन् ।