बारामा नमुना मतदान कार्यक्रम सम्पन्न

गढिमाइ खबर
101 पाठक संख्या
0-0x0-2-0-{}-0-0#

प्रतिनिधिसभा निर्वाचन २०८२ फागुन २१ गतेलाई लक्षित गर्दै बाराको कलैया स्थित सिदेश्वर मावि मतदान केन्द्र (क र ख) मा बिहिवार नमुना मतदान कार्यक्रम सम्पन्न गरिएको छ। जिल्ला निर्वाचन कार्यालय बारा र मुख्य निर्वाचन कार्यालयको संयुक्त आयोजनामा कार्यक्रम सञ्चालन गरिएको हो।

‎नमुना मतदान कार्यक्रममार्फत मतदान प्रक्रियाको अभ्यास गरिनुका साथै मतदानका क्रममा आउन सक्ने सम्भावित समस्या र त्यसको समाधानबारे जानकारी गराइएको थियो। साथै सुरक्षाको डेमो प्रस्तुत गर्दै शान्तिपूर्ण र व्यवस्थित मतदानका लागि गरिएका तयारीबारे अवलोकन गराइएको थियो।

‎मतदान केन्द्रमा तीन वटा छुट्टाछुट्टै लाइनको व्यवस्था गरिएको थियो। महिला मतदाताका लागि एक लाइन, पुरुष मतदाताका लागि अर्को लाइन र ज्येष्ठ नागरिक, अशक्त तथा असहाय मतदाताका लागि विशेष छुट्टै लाइनको व्यवस्था गरी मतदान प्रक्रिया कसरी अघि बढाइन्छ भन्ने नमुना प्रस्तुत गरिएको थियो।

‎मुख्य निर्वाचन अधिकृत प्रकाश अधिकारीले निर्वाचनका सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिँदै आजको नमुना मतदान कार्यक्रममार्फत आवश्यक व्यवस्थापन र समन्वयको परीक्षण गरिएको बताए।

‎त्यसैगरी, बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले जिल्लामा सुरक्षाका सम्पूर्ण तयारीहरू पूरा भइसकेको उल्लेख गर्दै चारवटा निर्वाचन क्षेत्रका मतदान केन्द्र र मतदान स्थलहरूको निरन्तर अनुगमन भइरहेको जानकारी दिए।

‎नमुना मतदान कार्यक्रमले निर्वाचनको दिन हुने वास्तविक मतदान प्रक्रियालाई थप व्यवस्थित, सुरक्षित र प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

साझा गर्नुहोस्