बारा–१ ः चुनावी तापक्रम उच्च काँग्रेस–एमाले भिडन्तमा रास्वपाको प्रवेश,जसपा नेपाल पनि दाउमा

गढिमाइ खबर
107 पाठक संख्या पढ्न लाग्न समय 4 मिनेट
पढ्न लाग्न समय 4 मिनेट

निजगढ ०३ माघ/

‎प्रतिनिधिसभा निर्वाचन अन्तर्गत बारा जिल्ला निर्वाचन क्षेत्र नं. १ यसपटक चर्को राजनीतिक प्रतिस्पर्धाको केन्द्र बन्दै गएको छ । नेपाली कांग्रेस र नेकपा (एमाले) बीचको परम्परागत शक्ति परीक्षणसँगै नयाँ राजनीतिक शक्ति रास्वपाको बलियो उपस्थितिले चुनावी माहोल थप रोचक बनेको छ ।

‎नेपाली कांग्रेसका तर्फबाट दोस्रो विशेष महाधिवेसनले केन्द्रीय सदस्यमा निर्वाचित पुर्वसभासद प्रत्यासी उम्मेदवार बनेका शम्भुबहादुर बुढाथोकी पार्टीमा अनुभवी र चतुर नेता हुन् । व्यापारिक पृष्ठभुमिबाट एकाएक राजनीतिमा देखा पर्दै उनी थोरै समयमै पार्टीको जिल्ला सभापति नेतृत्वका लागि हालका सभापति राजेश रायसित बलियो प्रतिस्पर्धामा उत्रेका थिए ।

‎तर उनी त्यति हार खाए । अहिले यस क्षेत्रबाट टिकट हात पार्नसमेत केन्द्रीय नेताहरुको मन जितेर प्रतिनिधि सभाको निर्वाचनमा बलियो प्रतिस्पर्धी देखिएका छन् । उनी पार्टीभित्र असन्तुष्टलाई मिलाउने कार्यमा सिपालु छन् । तर उनको साकारात्मक नतिजाका लागि यी सबै कुराले कस्तो प्रभाव पार्ला भने समयले बताउँला । चुनावी माहोल भने गर्मागर्मी अवस्थामा भएकोले प्रतिस्पर्धा कडा देखिएको छ ।

बुढाथोकी निजगढ निवासी हुन् । यस क्षेत्रमा पाँच वटा स्थानीय पालिका भएको क्षेत्रमा बुढाथोकीको पकड राम्रै मानिन्छ । उनको समर्थक र शुभचिन्तक क्षेत्रीय भुगोलमा तलदेखि माथिसम्म छ । यस क्षेत्रमा सिम्रौनगढ देखी निजगढ सम्म रहेको छ । दक्षिणमा उनको मतको विशेष जनाधार सिम्रौनगढ नगरपालिका पूर्वनगरप्रमुख विजयशंकर यादव रहेको बुझिएको छ । यस निर्वाचन क्षेत्रको स्थानिय तहमा पकड बनाएका बुढाथोकी तथा उनका विशेष समर्थक विजयशंकरलाई कांग्रेसको ‘ग्राउन्ड स्ट्रेन्थ’ का रूपमा हेरिएको छ । कांग्रेसको क्षेत्रभित्रको संगठनात्मक एकता र स्थानीय कार्यकर्ताको सक्रियता उनको प्रमुख आधार मानिन्छ ।

यता नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा यस निर्वाचन क्षेत्रका तेस्रो पटकका उम्मेदवार अच्चुत मैनाली यसअघि प्रतिनिधि सभा सदस्य भइसकेका नेता हुन् । संसदीय अनुभव, केन्द्रीय राजनीतिसँगको पहुँच र पार्टीको स्थायी मत आधार मैनालीका पनि बलिया पक्षका रूपमा हेरिएका छन् । उनले २०७९ को चुनावमा उनले आफ्ना प्रतिस्पर्धीलाई झन्डै दोब्बर मतले पराजित गरी विजयी भएकाले एमालेले यस निर्वाचन क्षेत्रमा आफ्नो पुरानो हैसियत र विरासत फर्काउने रणनीतिसहित मैनाली अघि सरेका हुन् । मैनाली २०७४ को चुनावमा काँग्रेसका तत्कालीन सहमहामन्त्री उमाकान्त चौधरीसित पराजित भएका थिए । यसपाली भने चौधरी पार्टीको पुर्व संस्थापक नेतृत्वको पक्षमा भएकाले उनले टिकट काँग्रेसबाट पाएनन् । उनको ठाउँमा काँग्रेसबाट यसपालि बुढाथोकी मैनालीसित प्रतिस्पर्धामा छन् ।

‎यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट गणेश धिमालको उम्मेदवारीले प्रतिस्पर्धालाई त्रिकोणात्मक बनाउने संकेत गरेको छ । वैकल्पिक राजनीतिका पक्षधर मतदातालाई आकर्षित गर्ने प्रयासमा रहेका धिमालले युवापंक्ति र परिवर्तन चाहने मतदातामा प्रभाव जमाउने प्रयास गरिरहेका छन् । जेनजी आन्दोलनपछि रास्वपाको चर्चाले पनि उनी बलिया उम्मेदवारको रुपमा प्रस्ततुत भएका छन् । २०७९ को चुनावमा पनि उनी यही पार्टीबाट उम्मेदवार थिए ।

‎त्यसैगरी नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट सन्तोष ढंगाल पनि चुनावी मैदानमा छन् । यद्यपि मुख्य प्रतिस्पर्धा भने कांग्रेस, एमाले र रास्वपाबीच केन्द्रित देखिन्छ । त्यसो त मतदाताले यी सबै पुराना र उत्तरी क्षेत्रका उम्मेदवार मात्र भएकाले दक्षिणी क्षेत्रका उम्मेदवार जसपाका रामबाबु यादव पनि चर्चामा छन् । उनको साथमा पार्टीको पुर्वमुख्यमन्त्री सरोज राय यादवको समर्थन रहेकाले उनी पनि प्रतिस्पर्धामा दाबेदार देखिएका छन् ।

‎मतदाताकोबीचमा स्थानीय नेतृत्व बनाऔं, संसदीय अनुभव भएका व्यक्तिलाई जिताऔं, नयाँ पुस्तालाई पुस्तान्तरण गरौं भन्ने चर्चाले र नयाँ राजनीतिक शक्ति—आयामले बारा–१ को निर्वाचनलाई अर्थपूर्ण बनाएको छ ।

साझा गर्नुहोस्