हैजा संक्रमणले वीरगञ्जमा दुई जनाको मृत्यु,अनुगमन, दुई दिन विद्यालय बन्द

गढिमाइ खबर
164 पाठक संख्या पढ्न लाग्न समय 3 मिनेट
पढ्न लाग्न समय 3 मिनेट

कलैया :मधेश प्रदेशको एक मात्र महानगर वीरगञ्जमा हैजा संक्रमण बढेको छ। हैजाको लक्षणले संक्रमित दुई जनाको ज्यान गएको छ।

झाडापखालाको लक्षण देखापरेका एक जना बिरामीको आइतबार मृत्यु भएको हो। बिरामीको हैजाको परीक्षण गर्न नपाउँदै मृत्यु भएको नारायणी अस्पताल, वीरगञ्जका प्रवक्ता डा उदयनारायण सिंहले साझेदारी दैनिकलाई जानकारी दिए। वीरगञ्ज हेल्थ केयरमा उपचाररत अर्का एक बिरामीको शुक्रबार मृत्यु भएको थियो।

झाडापखालाका कारण मृत्यु भए पनि हैजा थियो वा थिएन भन्नेबारे जाँच भइ नसकेको जिल्ला स्वास्थ्य कार्यालय पर्साले जनाएको छ। जिल्ला स्वास्थ्य सङ्कट व्यवस्थापन समितिले हैजा र झाडापखालाका बिरामीलाई वीरगञ्जका सबै अस्पतालमा बेड छुट्टाएर उपचार गर्न निर्देशन दिएको छ। यसै सन्दर्भमा निमित्त प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्कीको अध्यक्षतामा बैठक बसेको छ।

सो बैठकले हैजाको सङ्क्रमण बढेको अवस्थामा उपचारका लागि पर्याप्त रूपमा ‘डेडिकेटेड बेड’ छुट्याई उपचार गर्न भनेको छ। बैठकले जनशक्ति व्यवस्थापन गर्न सबै अस्पताललाई निर्देशन दिएको छ।

सरसफाई प्रवद्र्धनका लागि स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयंसेविकासहित सरोकारवाला निकायलाई प्रभावकारी परिचालन गर्न भनिएको छ। झाडापखाला, हैजाका लागि जिम्मेवार मानिएको भिब्रिओ कोलेरा जीवाणु रोकथाम गर्न आवश्यक रहेको छ। सुरक्षा निकाय, स्थानीय तह, राजनीतिक दल, पेसागत सङ्घसंस्था, नेपाल रेडक्रस सोसाइटी, गैरसरकारी संस्था लगायतको समन्वयमा व्यवस्थापन गरी जागरण अभियान सञ्चालन गरिने समेत जनाइएको छ ।

पर्साको वीरगञ्जका हैजा प्रभावित क्षेत्रमा खानेपानी परीक्षणका लागि खानेपानी तथा ढल व्यवस्थापन विभागबाट आवश्यक सामग्रीसहित मोबाइल भ्यान टोली काठमाण्डौंबाट खटाइएको छ। टोलीले पानी परीक्षण र जनचेतनामूलक कार्य सुरु गरिसकेको छ।खानेपानी मन्त्री प्रदीप यादव हैजा प्रभावित क्षेत्रमा पुगेर त्यहाँको अवस्थाबारे जानकारी लिएको छ।

मन्त्री यादवले हैजा प्रभावित क्षेत्रमा शुद्ध खानेपानीको आपूर्ति सुनिश्चित गर्न मन्त्रालयले विशेष पहल गरिरहेको जानकारी दिएका छन्। वीरगञ्ज महानगरपालिकाको हैजा प्रभावित क्षेत्रहरूको स्थलगत अनुगमन तथा निरीक्षण गरेको छ।

नारायणी अस्पताल, तराई हस्पिटल, वीरगञ्ज हेल्थ केयरलगायत अस्पतालमा उपचाररत सङ्क्रमित बिरामीहरूको अवस्थाबारे जानकारी मन्त्री यादवले लिएका छन्। वीरगञ्ज महानगरपालिकाले साउन ८ र ९ गतेगरी दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ।

महानगर क्षेत्रमा फैलिदै गरेको हैजाको सङ्क्रमणलाई दृष्टिगत गरी विद्यालय बन्द गरिएको हो। सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरूको पठनपाठन स्थगित गर्ने निर्णय गरिएको महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले साझेदारी दैनिकलाई जानकारी दिएको छ।

सरसफाइ र स्वास्थ्यमाथि विशेष ध्यान दिन महानगरवासीलाई वीरगञ्ज महानगरले अनुरोध गरेको छ। पानी उमालेर मात्र पिउन महानगरले सल्लाह दिएको छ। शौचालय प्रयोग गरिसकेपछि अनिवार्य रूपमा साबुन पानीले हात धुन भनिएको छ।

सरसफाईका नियमहरूलाई पालना गर्न भनिएको छ। काँचै खाने साग सब्जीहरू तातोपानीले पखालेर मात्र खान भनिएको छ। संक्रमणबाट जोगिनको लागि आवश्यक उपायहरू अपनाउन सुझाव महानगरपालिको सर्वसाधारणसंग आग्रह गरेको छ।

साझा गर्नुहोस्