बाघको आक्रमणबाट एक जनाको मृत्यु

गढिमाइ खबर
283 पाठक संख्या

कलैया : बाघको आक्रमणबाट बुधबार बिहान बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २१ आधाभार जंगलमा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २२ दुई नम्बर पुल बस्ने ५५ बर्षिय कृष्णप्रसाद शर्मा रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरिक्षक बिजयराज पण्डितले जानकारी दिएका छन । उनको शव सडक देखि दुई/तिन सय मिटर पुर्व बाघले खाएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

उनको शव घोप्टो परेको र टाउको नभएको अवस्थामा फेला परेको हो । शर्मा आधाभार जङगलमा स्कुटी लिएर घाँस काट्न भनि गएका थिए। उनी घरमा नफर्किए पछि उनको आफन्तले खोजतलाश गर्न शुरु गरेका थिए। खोजतलाश गर्ने क्रममा आधाभारको जंगलमा उनको स्कुटी र घास फेला परेको थियो । उनका आफन्तले उनको खोजतलाशका लागि ईलाका प्रहरी कार्यालय अमलेखगञ्जमा बुधबार दिउसो निवेदन दिएका थिए।

प्रहरी सहायक निरिक्षक जयप्रकाश साहको कमाण्डमा खटिृएको टोलीले खोजतलाश गर्ने क्रममा सोही जङगलमा चप्पल फेला परेको थियो भने , केही मात्रामा रगतहरु पनि देखा परेको थियो ।

आधाभार ब्यारेक बाट खटिगएको नेपाली सेनाको टोली र प्रहरी टोली सहित वडा नम्बर २१ र २२ नंम्बरको वडा अध्यक्षको नेतृत्वमा १०/१५ जनाको संयुक्त टोलीले खोजतलाश गर्ने क्रममा उनको शव भेटिएको हो । मृतक शर्माको शव परिक्षण लागि प्रादेशिक अस्पताल कलैयामा ल्याईएको छ ।

साझा गर्नुहोस्