प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माण प्रक्रिया छिट्टै शुरु हुन्छ ः भौतिक पुर्वाधार मन्त्री यादव

गढिमाइ खबर
पढ्न लाग्न समय 2 मिनेट

नवराज चौलागाई/

मधेस प्रदेश सरकारका भौतिक पुर्वाधार बिकास मन्त्री कृष्ण प्रसाद यादवले रामजानकी अन्तर्राष्ट्रिय रंगशाला निर्माण प्रक्रिया छिट्टै शुरु हुने बताएका छन ।

बारा कलैयामा शनिवार मधेस प्रदेश क्रिकेट संघको दोश्रो अधिवेशनलाई सम्बोधन गर्नुहुँदै मन्त्री यादवले प्रदेश सरकारको आन्तरिक कारणले रंगशाला निर्माण प्रक्रियामा ढिलाइ हुन गएको जनाउनुहुँदै केही समयमै रंगशाला निर्माणले गति लिने जनाएका छन ।

प्रदेश सरकार रंगशाला निर्माणमा दत्तचित्त भएर लागि परिरहेकोछ,हामी भित्र केही व्यवस्थापनको कमजोरिको कारण यो कुरा अघि बढिसकेको छैन’ मन्त्री यादवले भन्नुभयो । उनले मुख्यमन्त्री ज्युको अस्वस्थताको कारण काम रोकिएको छ, उहाँ आउने बित्तिकै यो कुरा अघि बढ्छ । रंगशाला निर्माणको लागी कन्सल्यान्टसङ्ग पनि कन्सर्न गरिसकेको मन्त्री यादवले जनाए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी २०७५ सालमा जनकपुरधाम आउनुहुँदा गोपाल धर्मशाला निर्माणको लागी १ अर्ब रुपैयाँ सहयोग गर्ने भनिएको रकम रंगशाला निर्माणका लागी डाइभर्ट गर्न लागिएको र प्रदेश सरकारले समेत थप रकम विनियोजन गरेर मधेस प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माण गर्ने योजना बनाएको मन्त्री यादवले जानकारी गराए ।

भारतीय सहयोगका लागी मुख्यमन्त्री ज्यु र आफुले समेत भारतीय दूतावासंग छलफल गरिसकेको र दूतावासले समेत रंगशाला निर्माणमा चासो देखाएको मन्त्री यादवको भनाई छ ।

रंगशाला निर्माणसंगै मधेसमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलकुद प्रतियोगिताहरु आयोजना हुने र मधेस प्रदेशमा खेलाडी उत्पादन हुनेमा मन्त्री यादवको विश्वास छ ।

साझा गर्नुहोस्
Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *