रौतहट : रौतहटको मौलापुर नगरपालिकाको आयोजनामा मधानी महायज्ञको चौथो दिन मंगलबार मधानी विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ।
यहाँको पतौराधामस्थित महादेव मन्दिरमा सो महोत्सवको आयोजना गरिएको हो। धार्मिक,सांस्कृतिक,पर्यटकीय एवं ऐतिहासिक पुरातात्विक मौलापुरको पतौराधाममा आयोजित यस महोत्सवमा नेपाल र भारतका चर्चित कलाकारहरुको जमघट रहेको छ। यहाँ लाखौंको भिड देखिएको छ।
नेपाल र भारतका दर्शनार्थीहरु शिवमन्दिरमा दर्शन गर्न आएका छन्। मधानी विशेष सांस्कृतिक कार्यक्रम समेत यी दर्शकहरु हेर्न पुगेका हुन्।महायज्ञलाई विश्वव्यापी बनाउँने कलाकारहरुले प्रतिबद्धता सो अवसरमा व्यक्त गरेका छन्।
नेपाल–भारतका चर्चित कलाकार पतौराधाममा आएका छन्। उनीहरु यहाँ आएपछि ओर्लिएको जनसागरलाई व्यवस्थित गर्न प्रहरी र स्वयंसेवकलाई हम्मेहम्मे परेको थियो।ति कलाकारहरुले शिवमन्दिरमा दर्शन गरेका थिए।
भोजपुरी सिने जगतका लेखक,निर्माता तथा पूर्वमन्त्री बिनय बिहारी, ‘डायरी अफ मणिपुर’ फिल्मका निर्देशक सनोज मिश्र,भोजपुरीका चर्चित गायक एवं अभिनेता रितेश पाण्डे यहाँ आइपुगेका हुन्। उनीहरुले मधानी विशेष सांस्कृतिक कार्यक्रममा विशेष प्रस्तुती रहेको आम सांस्कृतिक मोर्चाका केन्द्रिय अध्यक्ष विजय यादव निर्विजले साझेदारी दैनिकलाई बताएका छन्।
मधानी महोत्सवमा महाकुम्भ मेलाका भाईरल गर्ल मोनालिसा सहित मिंटुवा भोजपुरीया (कलाकार),सुनील पंडित (गायक),अनु चौधरी (गायिका),गौरभनारायण राई (नेपाली गायक),सदाम हुसेन (कलाकार),रचना सिवाकोटी ( कलाकार),रुद्र नारायण तिवारी (गायक),प्रीति आर्या पासवान (कलाकार),प्रिया सुहानी (कलाकार),रोसनी राज (कलाकार),सरिता साह (कलाकार),अर्जुन बीसी (कलाकार),मनीषा राई (कलाकार) सहितका कलाकारहरुको यो महोत्सवमा विशेष प्रस्तुती रहेको हो।
मधानी महायज्ञ पाँच दिनको हो। ११ फागुनमा बिभिन्न विद्यालयका विद्यार्थीहरुले शिक्षा÷साक्षरता केन्द्रीत सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए। १२ गते भगवान शिवको बरात यात्रा निष्केको थियो। १३ गते शिवमन्दिरमा विशेष पूजा र शिवमण्डलीका बीचमा नै प्रतिस्पर्धा भएको थियो। १४ गते मधानी विशेष सांस्कृतिक कार्यक्रम भएको छ। १५ गते मधानी विशेष दंगल कार्यक्रमसंगै महाधानी महोत्सव सम्पन्न हुदैछ ।
प्रत्येक बर्ष भगवान शिव पार्वतीकोको विवाह उत्सवको रुपमा मनाईने मधानी महायज्ञले धर्म,संस्कृतिको संरक्षण समेत हुने गरेको मेयर रिनाकुमारी साहले जनाएकी छन्। नेपाल र भारतका लाखौं दर्शनार्थीहरु दर्शन गर्न यहाँ आउँने भएकाले त्यसले दुई देशको सम्बन्ध अझै बलियो बनाउँने उनको भनाई रहेको छ।
पुरातात्विक महादेव मन्दिरलाई विश्वसम्पदा सूचिमा सूचिकृत गराउने संकल्प सहित मधानी महायज्ञ गरिएको हो।