अब सिमा नाकामा सिसिटिभीबाट कडा निगरानी गरिने : प्रजिअ अधिकारी

गढिमाइ खबर
263 पाठक संख्या

कलैया : बाराको सिमा नाकाहरुमा सिसिटिभी मार्फत निगरानी गरिने जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले बताएका छन् ।

सशस्त्र प्रहरी बल नेपाल, प्रस्तावित सीमा सुरक्षा गुल्म मटिअर्वाको आयोजनामा कलैया उपमहानगरपालिका–१० मटिअर्वा स्थित छोटी भन्सार कार्यालयको प्राङ्गणमा सोमबार सीमा सहजीकरण बैठकमा उनले यस्तो बताएका हुन् ।

सो अवसरमा बोल्दै प्रजिअ अधिकारीले सीमा सुरक्षालाई संवेदनशील विषय ठहर गर्दै सबै निकायले आ–आफ्नो जिम्मेवारी इमानदारीपूर्वक पूरा गर्नुपर्ने बताए । सिमा चेकपोष्टमार्फत कडा निगरानी गरिने प्रजिअ अधिकारीले बताए ।

मटिअर्वास्थित दशजगा ईलाकामा सशस्त्र प्रहरी बल नेपाल प्रहरी सि.सु गुल्मले काउण्टर पार्टस समन्वय गरि एक हप्ता भित्र बाटो मर्मत गर्ने, जिल्ला प्रहरी कार्यालय बारा र कलैया उपमहानगरपालिका वडा नम्बर १० को वडा कार्यालयले १५ दिन भित्र भन्सार गेट दायाँ र बायाँ तर्फको अतिक्रमण पसलहरु हटाउने निर्णय गरिएको प्रजिअ अधिकारीले बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय बारा र जिल्ला ट्राफिक कार्यालयको संयुक्त समन्वयमा तत्कालै पार्किङ व्यवस्थापन गर्ने र कलैया उपमहानगरपालिका वडा नम्बर १० का वडा अध्यक्षको संयोजकत्वमा सशस्त्र प्रहरी बल नेपाल,नेपाल प्रहरी र स्थानीयहरुको उपस्तिथिमा १५ दिन भित्र सरसफाइ गर्ने निर्णय भएको उनले भने ।

छोटी भन्सार कार्यालय मटिअर्वाका कर्मचारीहरु नियमित उपस्थित भए÷नभएको कार्यालय संचालन दुरुस्त गरे÷नगरेको अनुगमन गर्ने र सशस्त्र प्रहरी बल नेपाल ,कलैया उपमहानगरपालिकाले एक महिना भित्र उपयुक्त स्थान छनोट गरि पोष्ट निर्माण गरिने निर्णय भएको प्रजिअ अधिकारीले बताएका छन् ।

सशस्त्र प्रहरी बल, नेपालद्धारा सीमामा आवत जावत गर्ने सर्वसाधरण लगायत सवारी साधन चेक जाँचमा सहजता एंव शोभनियताको लागी कलैया उपमहानगरपालिका र सशस्त्र प्रहरी बल, नेपाल द्धारा १ महिना भित्र पक्कि ब्यारियार निर्माण गर्ने, सीमामा अवस्थित स्थानमा सम्पुर्ण सर्वसाधरणको जानकारीको लागी कलैया उपमहानगरपालिका र उधोग बाणिज्य संघद्धारा १ महिना भित्र संदेशमुलक सूचनाहरु राख्ने निर्णय गरिएको उनले भने ।

पशु क्वाराईन्टिन कार्यालयका कर्मचारीहरुको नियमित काम कारवाही उपस्थितिको बारेमा छड्के अनुगमन गर्ने, सीमा नाकामा १ महिना भित्र कलैया उपमहानगरपालिका र भन्सार कार्यालय, सुरक्षा निकायहरुको उपस्थितीमा सि.सि.टि.भि राख्ने, जिल्ला बन कार्यालय, कलैया उपमहानगरपालिका, वडा कार्यालय, सशस्त्र प्रहरी बल, नेपाल, नेपाल प्रहरी, स्थानियवासीहरुको सहभागितामा तत्कालै बृक्षारोपण गर्ने निर्णय गरिएको प्रजिअ अधिकारीले बताए । उक्त सिमा सहजीकरण बैठकमा ११ बुदे निर्णय गरिएको उनले बताए ।

यसैबीच बैठकले सडक मर्मत, सरसफाइ, पार्किङ व्यवस्थापन, वृक्षारोपण तथा संदेशमूलक सूचना राख्ने जस्ता निर्णय पनि गरेको छ । यी विषयमा नगरप्रमुख विनोद साहले नगरपालिकाले सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाए ।

उनले भने, “सडक, सरसफाइ, पार्किङ र हरियाली अभियान जस्ता कामलाई नगरपालिकाले प्राथमिकतामा राख्छ । सशस्त्र प्रहरीसँगको सहकार्यमा पक्की ब्यारियर र सूचना पाटी निर्माणमा पनि उपमहानगरपालिकाले सहयोग गर्नेछ ।

वडाध्यक्ष महम्मद साविर मियाको अध्यक्षतामा बसेको बैठकमा सीमा सुरक्षासम्बन्धी चुनौती, नाकाको व्यवस्थापन र समग्र पूर्वाधार विकासबारे सरोकारवालासँग राय–सुझाव संकलन गरिएको थियो ।

यसैगरी अवाञ्छित गतिविधि नियन्त्रणका लागि सिसिटिभी जडान र पक्की ब्यारियर निर्माण हुने भएको सशस्त्र प्रहरी बल नेपाल १२ न गणका गणपति प्रहरी उपरीक्षक खुमबहादुर केसीले बताए ।

”बैठकमा सहभागी स्थानिय रामाअयोध्या प्रसाद गुप्ताले सिमानाकाको छेउमा रहेका मदिरा पसल टाढा सार्न सुझाव दिएका थिए । उनका अनुसार सिमानामा सञ्चालन भइरहेका होटल र मदिरा पसलका कारण चोरी, तस्करी तथा अन्य आपराधिक गतिविधि बढ्ने खतरा भएकाले तत्काल नियन्त्रण आवश्यक रहेको बताए ।

उक्त सीमा सहजीकरण बैठकमा जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक सन्तोष तामाङ,राष्ट्रिय अनुसन्धानका उपनिर्देशक सरोज निरौला ,सशस्त्र प्रहरी बल बिओपी मटिअर्वाका प्रहरी नायब उपरीक्षक सुधिर खतिवडा,छोटी भन्सार कार्यालय मटिअर्वाका नायब सुब्बा गणेश कडेल,बारा उधोग वाणिज्य संघका उपाध्यक्ष प्रदिप कुमार साह,कलैया उपमहानगरपालिका –४ का वडा अध्यक्ष रामेश्वर यादव,नेपाल राष्ट्रिय माध्यमिक बिधालय मटिअर्वाका प्रधानाध्यापक रामबाबु कुशवाहा,स्थानीय नागरिक शंकर प्रसाद यादव,कपिलदेव प्रसाद साह लगायत स्थानिय तथा सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो।

साझा गर्नुहोस्