कलैया : बारामा शनिबार राती सडक दुर्घटना हुँदा एक जना ज्यान गएको छ ।
पिलुवा-मानवत मटिअर्वा सडकखण्डमा कलैया उपमहानगरपालिका वडा नं। २४ सखुईमा सो दुर्घटना भएको हो ।
दुर्घटनामा परी मोटरसाइकल चालक कलैया उपमहानगरपालिका वडा नं.१६ का ५५ वर्षीय उद्धवप्रसाद यादव रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
पिलुवाबाट कलैया तर्फ जादै गरेको बा.प्र.०१–०२५ च ४९५३ नम्बरको कार रोकिरहेको अवस्थामा सोही दिशा तर्फ जादै गरेको ना ५६ प ६६९८ नम्बरको मोटरसाइकलले कारमा ठक्कर खाई मोटरसाइकल अनियन्त्रित भएको हो।
मोटरसाइकल चालक यादव कलैयाबाट पिलुवा तर्फ आउँदै गरेको बा.प्र.०३–००१ ख ३२९० नं।को बसको पछाडिको दाहिने चक्कामा परी घटनास्थल मै मृत्यु भएको हो ।
तीन वटै सवारी साधन घटनास्थलमा नै रहेको, कार र बसको चालक फरार रहेको र खोजतलाश कार्य पश्चात नियन्त्रणमा लिएको बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक बिजयराज पण्डितले जानकारी दिए ।
घटनास्थलमा प्रहरी चौकी जैतापुर बाराबाट प्रहरी सहायक निरीक्षक निल मैनालीको कमाण्डमा २ जना, जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी निरीक्षक सुरेश राज भट्टको कमाण्डमा र इलाका प्रहरी कार्यालय सिमरा बाराबाट प्रहरी निरीक्षक सुभाष शाहको कमाण्डमा मुचुल्का सहित सोको टोलि खटिएको थियो । प्रहरी चौकी जैतापुर बाराबाट घटनास्थल सात किलोमिटर टाढा रहेको छ।
घटनाबारे थप अनुसन्धान कार्य भईरहेको प्रवक्ता पण्डितले जानकारी दिए ।









