वीरगञ्ज : पर्सा जिल्लाको जिल्ला विपद् व्यवस्थापन समितिको वैठक शनिवार सम्पन्न भएको छ ।
जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा बसेको वैठकले विभिन्न विषयहरुमा निणर्य गरेको छ ।
बैठकले अब पर्सा जिल्लाका कुनैपनि स्थानहरुमा डिपबोरिङ जडान गर्नुअघि जिल्ला विपद् समितिसँग अनिवार्य रूपमा अनुमति लिनुपर्ने निर्णय गरेको छ ।
जिल्लामा जथाभावी ढङ्गले डिपबोरिङ खन्ने काम भएकाले सो नियन्त्रणका लागि अनुमति लिनुपर्ने अनिवार्य व्यवस्था गरिएको पर्साका प्रजिअ अर्यालले जानकारी गराए ।
यसैगरी वैठकमा पर्साका सहायक प्रजिअ बाबुलाल रेग्मीले नेपाल र भारतबीचमा गण्डक नहरको पानीका सम्बन्धमा भएको लिखित सम्झौता र प्रतिबद्धता अनुसार पानी प्राप्त नभएको जानकारी गराए ।
सहायक प्रजिअ रेग्मीको अनुसार वैठकले सम्झौता बमोजिम आठ सय ५० क्यूसेक पानी उपलब्ध गराउनका लागि गृह मन्त्रालयमार्फत भारत सरकारसँग अनुरोध गर्ने निर्णय भएको बताए ।
यसैगरी जिल्लाको सहरी क्षेत्रसहित विभिन्न स्थानमा जडान गरिएका डिपबोरिङबाट लाभान्वित जनसङ्ख्या र उक्त बोरिङको हालको अवस्थासमेत विपद् समितिले अनुगमन गर्ने निर्णय गरेको छ ।
यस्तै पर्सामा डिपबोरिङ जडान भएका ठाउँमा स्थानीय सहभागी भएको उपभोक्ता समूह समिति गठन गरी सो समितिको नाममा विद्युतीय मिटर जडान गर्ने व्यवस्था मिलाउने तथा उक्त कार्यको सहजीकरण नेपाल विद्युत् प्राधिकरण र वडा अध्यक्षहरूले गर्ने÷गराउने निर्णय गरेको सहायक प्रजिअ रेग्मीले बताएका छन ।
समितिको बैठकले तयार पारिएको कार्यान्वयन कार्ययोजना (एक्सन प्लान) अनुमोदन गरी कार्यान्वयन गर्ने पनि निर्णय गरेको जनाईएको छ ।









