एनपिएलः विराटनगरद्वारा लुम्बिनीसामु १६७ रनको लक्ष्य प्रस्तुत

गढिमाइ खबर
48 पाठक संख्या

काठमाडौँ, २८ कात्तिकः तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) टी–२० क्रिकेटमा विराटनगर किङ्सले लुम्बिनी लायन्सलाई १६७ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १६६ रन बनायो । उसका लागि चरिथा अशलङ्काले अर्धशतकीय पारी खेले ।

उनले ४३ बलमा छ छक्का र एक चौकासहित ६४ रनको पारी खेलेका हुन् । यस्तै, शुभम रञ्जनेले अविजित ३१, इमरान शेखले २९ र लोकेश बमले १५ रन बनाए ।

लुम्बिनी लायन्सका बलिङतर्फ किशोर महतोले २, रुबेन ट्रम्पलम्यान र अभिशेष गौतमले १–१ विकेट लिए । प्लेअफमा स्थान बनाउन आजको खेल विराटनगरका लागि महत्त्वपूर्ण छ । लुम्बिनीलाई हराउन सके विराटनगरको प्लेअफ सम्भावना कायमै रहनेछ । हारको सामना गरेमा उसको प्लेअफ यात्रा टुङ्गिनेछ ।

लुम्बिनीले भने एक खेलअगावै प्लेअफमा स्थान सुरक्षित गरिसकेको छ । उसले छ खेल खेल्दा चारमा जित, एक खेलमा पराजय र एक खेलमा वर्षाका कारण अङ्क बाँडेको छ । ऊ अहिले तालिकाको दोस्रो स्थानमा छ । तालिकाको पाँचौँ स्थानमा रहेको विराटनगरले छ खेल खेल्दा तीनमा जित र तीन खेलमा हारको सामना गरेको छ ।

साझा गर्नुहोस्