कलैया : बाराको अम्लेखगंज क्षेत्रबाट प्रहरीले मिनी ट्रकबाट लोड गरिएको अवस्थामा २ सय ३६ किलो लागुऔषध गाँजासहित ट्रक चालकलाइ नियन्त्रणमा लिएको छ।
ईलाका प्रहरी कार्यालय अमलेखगञ्जको टोलीले सोमबार बा २ ख ९५६९ नम्बरको मिनी ट्रकमा लोड गरिएको गाँजासहित ट्रकका चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
पक्राउ पर्ने चालक मकवानपुरको कैलाश गाउँपालिका–१० निवासी ३८ वर्षीय रमेश रुम्बा रहेको बारा प्रहरी प्रबत्त प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए।
इलाका प्रहरी कार्यालय अमलेखगञ्जका प्रहरी बरिष्ठ नायब निरीक्षक धनप्रसाद श्रेष्ठको नेतृत्वमा खटिएको टोलीले जीतपुरसिमरा उपमहानगरपालिका–२१ अमलेखगञ्जस्थित प्रहरी चेकपोइन्टमा उक्त ट्रकलाई जाँच गर्दा गाँजा बरामद भएको हो।
मकवानपुरबाट वीरगञ्जतर्फ आउँदै गरेको ट्रकको छतमा सिलिङ भित्र फल्स बटम बनाई त्रिपालले छोपेर लुकाइएका २८ पोका गाँजा बरामद गरिएको मकवानपुर प्रहरीले जनाएको छ।
बरामद गरिएको गाँजाको अन्दाजी २ सय ३६ किलो ७५० ग्राम रहेको र यस सम्बन्धमा इलाका प्रहरी कार्यालय सिमराका डीएसपी वेदप्रकाश जोशीको कमाण्डमा रहेको टोलीले थप अनुसन्धान गरिरहेको प्रवक्ता पण्डितले बताएका छन् ।









