बर्डफ्लु संक्रमणपछि परवानीपुर अनुसन्धान केन्द्रका हजारौं पन्छी नष्ट

गढिमाइ खबर
35 पाठक संख्या

कलैया । बाराको परवानीपुरस्थित राष्ट्रिय पन्छी अनुसन्धान कार्यक्रम मा अनुसन्धानका लागि पालिएका विभिन्न प्रजातिका पन्छीमा बर्डफ्लु संक्रमण पुष्टि भएपछि करिब ५० लाख रुपैयाँ बराबरको क्षति भएको छ। संक्रमण फैलिन नदिन फार्ममा रहेका पन्छी, अण्डा तथा दाना नष्ट गरिएको कार्यालयले जनाएको छ।

सूचना अधिकारी खेमबहादुर प्रजा का अनुसार चैतको अन्तिम सातातिर पहिलो पटक टर्की जातका पन्छीमा संक्रमण देखिएको थियो। त्यसपछि अन्य प्रजातिमा समेत संक्रमण फैलिन थालेपछि स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर सबै संक्रमित पन्छी नष्ट गरिएको हो।

कार्यालयका अनुसार करिब दुई हजार चल्ला तथा विभिन्न प्रजातिका पन्छी नष्ट गरिएको छ। गिरीराजलगायत करिब १२ सय कुखुरा, ३३ वटा तित्रा, ४७ वटा सेतो तथा कालो टर्की र करिब ४५० वटा बट्टाई नष्ट गरिएको जनाइएको छ।

संक्रमण नियन्त्रणका लागि फार्म परिसरमा चुना छर्किने, मल व्यवस्थापन गर्ने तथा आगोको ताप प्रयोग गरी निर्मलीकरण गर्ने काम जारी रहेको कार्यालयले जनाएको छ।

त्यस्तै पन्छीलाई खुवाइने ठूलो परिमाणको दाना पनि नष्ट गरिएको छ। कार्यालयका अनुसार एल–वान ८३५ किलोग्राम, एल–टु ४५५ किलोग्राम र एल–थ्री एक हजार ८३५ किलोग्राम दाना नष्ट गरिएको हो। अनुसन्धान कार्यलाई निरन्तरता दिन पोखरा र नेपालगञ्जस्थित अनुसन्धान केन्द्रबाट नयाँ पन्छी तथा अण्डा ल्याउने तयारी भइरहेको कार्यक्रमले जनाएको छ।

साझा गर्नुहोस्