संदिप प्रसाद यादव/
बाराको महागढीमाई नगरपालिका वडा नम्बर १ मा रहेको गढीमाई प्राबिधिक नमुना विद्यालयमा अध्ययनरत कक्षा ९ का छात्राहरुलाई १ सय १० र जनता माध्यमिक बिद्यालय कवही जब्दीमा ३७ जनालाई शुक्रबार एक कार्यक्रमबीच साइकल वितरण गरिएको छ ।
शैक्षिक सत्र २०८०/०८१ को शुरूवातसंगै आफ्नो दोस्रो कार्यकालको दोस्रो पटक बेटी पढाउ, बेटी बचाउ कार्यक्रम अन्तर्गत महागढीमाई नगरपालिकाको आर्थिक सहयोगमा गढीमाई प्राबिधिक नमुना विद्यालय र जनता माध्यमिक बिद्यालय कवहीजब्दीमा साइकल वितरण गरिएको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपप्रकाश गुप्ताको अध्यक्षतामा भएको कार्यक्रमको महागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र प्रसाद यादवले साइकल वितरण गरेका थिए ।
महागढीमाई नगरपालिका अन्तर्गत ६ वटा माध्यमिक विद्यालयमा कक्षा ९ का छात्राहरुलाई ५ सय ५० जनालाई साइकल वितरण गरिने नगरप्रमुख उपेन्द्र यादवले बताएका छन् । अझ छोरी चेलीहरुको विकास र समृद्धि हुन नसकिरहेको नगरपालिकामा यस कार्यक्रमले उल्लेख्य परीवर्तन गर्न र विद्यालयमा पहुँचदेखि,उच्च शिक्षा हाँसिलका लागि हौसला थप्न र छोरीहरुलाई आत्मनिर्भर बनाउने उदेश्यले नगरप्रमुख यादवले साइकल वितरण गरेका छन् ।
सामाज सुधार्ने ठूलो जिम्मेवारी छात्राहरूको काँधमा रहेको बताउँदै शिक्षा विकासका लागि हुने सहयोग गर्न कहिल्यै पछि नहट्ने नगरप्रमुख यादवले प्रतिबद्धता समेत जनाएका छन् ।