अमलेखगन्जमा ‘बाघ मित्र’ कार्यक्रम सम्पन्न, ३२ स्वयंसेवकलाई प्रशिक्षण

गढिमाइ खबर
34 पाठक संख्या

बारा । बाराको अमलेखगन्जमा मानव र बाघबीच सहअस्तित्वको वातावरण निर्माण गर्ने उद्देश्यसहित “बाघ मित्र” कार्यक्रमअन्तर्गत कार्यशाला तथा स्वयंसेवक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । मानव–बाघ द्वन्द्व न्यूनीकरण गर्दै दुवैको सुरक्षालाई प्राथमिकता दिने लक्ष्यसहित दुई दिने कार्यक्रम सञ्चालन गरिएको हो।

पर्सा राष्ट्रिय निकुञ्जको नेतृत्वमा डिभिजन वन कार्यालयहरू बारा, पर्सा, रौतहट र मकवानपुरको संयुक्त आयोजना तथा डब्लु डब्लु एफ नेपाल (तराई भू–परिधि कार्यक्रम) को सहकार्यमा दुई दिने कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममार्फत सन् २०२४ देखि कार्यान्वयनमा ल्याइएको “बाघ मित्र” अभियानबारे विस्तृत जानकारी गराउनुका साथै यसका लागि तयार गरिएको कार्य सञ्चालन प्रक्रिया (म्यानुअल) सार्वजनिक गरिएको छ। सो म्यानुअल कार्यान्वयनमा सरोकारवाला निकायहरूबीच साझा प्रतिबद्धता व्यक्त गरिएको छ भने छनोट गरिएका ३२ जना स्वयंसेवकको क्षमता अभिवृद्धिका लागि तालिम दिएको हो ।

कार्यक्रममा म्यानुअल सार्वजनिक गर्दै त्यसमा उल्लेखित गर्न हुने र नहुने १०/१० बुँदाको आचारसंहितालाई कडाइका साथ पालना गर्ने प्रतिबद्धता सहभागीहरूले व्यक्त गरेका छन्। साथै, बाघ मित्र स्वयंसेवकहरूलाई जिम्मेवारीपूर्वक परिचालन गर्न शपथ ग्रहण समेत गराइएको छ।

कार्यक्रम पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र खतिवडाको अध्यक्षतामा तथा डब्लु डब्लु एफ नेपालका कार्यकारी निर्देशक डा. घनश्याम गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा विभिन्न जिल्लाका डिभिजन वन अधिकृतहरू, मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका प्रतिनिधि, नेपाली सेना, संरक्षणकर्मी तथा अन्य सरोकारवालाको सहभागिता रहेको छ।

तालिम कार्यक्रमअन्तर्गत सहभागी स्वयंसेवकलाई दुई दिनसम्म व्यावहारिक तथा प्राविधिक ज्ञान प्रदान गरिएको निकुञ्ज प्रशासनले जनाएको छ। कार्यक्रम सञ्चालन टिएएलसिपीका क्लस्टर इन्चार्ज प्रेम पौडेलले गर्नुभएको थियो ।

साझा गर्नुहोस्