धनुषामा मनोज कुमार यादव ‘पुलिस अफ द मन्थ’ घोषित

गढिमाइ खबर
160 पाठक संख्या

श्यामबाबु यादव

जनकपुरधाम,३ चैत ।
जिल्ला प्रहरी कार्यालय धनुषाले प्रहरी निरीक्षक मनोज कुमार यादवलाई २०८२ साल फागुन महिनाको ‘Police of the Month’ घोषणा गरेको छ।

मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर अन्तर्गत भर्ना छनौट शाखामा दरबन्दी भई जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत प्रहरी निरीक्षक यादवले फागुन महिनामा उत्कृष्ट कार्यसम्पादन गरेकाले उक्त सम्मान प्रदान गरिएको कार्यालयले जनाएको छ।

यादवले फागुन १९ गते सम्पन्न मिथिला माध्यमिकी अन्तगृह परिक्रमा मेला तथा फागुन २० गतेको होली पर्वका अवसरमा प्रभावकारी सुरक्षा योजना बनाई प्रहरी परिचालन गर्दै कार्यक्रमहरू शान्तिपूर्ण रूपमा सम्पन्न गराउन महत्वपूर्ण भूमिका खेलेका थिए।

त्यसैगरी फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ लाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन उनले निर्वाचन सुरक्षा सम्बन्धी गतिविधि सञ्चालन गर्दै विस्तृत सुरक्षा योजना तयार गरी कार्यान्वयन गरेका थिए। जिल्लाभरका मतदानस्थल र केन्द्रहरूको सुरक्षा व्यवस्थापन, मोबाइल गस्ती, निगरानी तथा राजनीतिक दल र सरोकारवालासँग समन्वय गर्दै शान्तिपूर्ण वातावरण बनाउन उनले सक्रिय भूमिका निर्वाह गरेका थिए।

मतदानका दिन उनी मोबाइल कमाण्डरको रूपमा खटिँदै मतदानस्थलमा सुरक्षा व्यवस्था मिलाउनुका साथै मतपेटिका सुरक्षित सङ्कलन तथा मतगणनास्थलको सुरक्षामा समेत महत्वपूर्ण योगदान दिएका थिए।

‎प्रहरी संगठनप्रति लगनशील, कर्तव्यनिष्ठ र उच्च व्यवसायिकता देखाउँदै आम नागरिकमा सुरक्षाको अनुभूति गराउन सफल भएको भन्दै जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक रुगम बहादुर कुँवरले उनलाई फागुन महिनाको उत्कृष्ट प्रहरी घोषणा गरेका हुन्।

साझा गर्नुहोस्