बारामा सुरक्षा व्यवस्था फितलो, अज्ञात व्यक्तिद्वारा आमाछोराको हत्या

गढिमाइ खबर
237 पाठक संख्या
1

कलैया : श्याम यादव/ बारा जिल्लाको परवानीपुर गाउँपालिका–१ रहरियाडीमा अज्ञात व्यक्तिको आक्रमणबाट एकै परिवारका आमा र छोराको ज्यान गएको छ। मण्डल थर भएका घरमा भएको उक्त घटनामा ५२ वर्षीया आमा र उनका ३२ वर्षीय छोरा अज्ञात व्यक्तिको प्रहारबाट घटनास्थलमै मृत भेटिएका हुन्।

बाराका प्रहरीका अनुसार सोही परिवारका थप तिन जना सदस्य घाइते भएका छन्। घाइतेहरूको परवानीपुरस्थित एलएस न्युरो अस्पतालमा उपचार भइरहेको छ। उनीहरूको अवस्था मध्यम रहेको बताइएको छ।

घटना प्रहरी चौकी नजिकै भएको भए पनि यस्तो गम्भीर आपराधिक घटना हुनुले जिल्लाको सुरक्षा व्यवस्थामाथि प्रश्न उठाएको छ। स्थानीयवासीहरूले प्रहरीको सुरक्षा व्यवस्था फितलो भएको आरोप लगाएका छन्।

हत्या कसले र किन गरेको भन्ने विषयमा हालसम्म कुनै ठोस जानकारी नखुलेको बारा प्रहरीले जनाएको छ। घटनाबारे अनुसन्धान जारी रहे पनि यसबारे थप विवरण दिन प्रहरीले अस्वीकार गरेको छ। घटनापछि स्थानीय क्षेत्रमा त्रासको वातावरण सिर्जना भएको छ भने दोषीलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न स्थानीयवासीहरूले माग गरेका छन

साझा गर्नुहोस्