तुरुन्त राहत प्याकेज घोषणा गर्न आजपा अध्यक्ष साहको माग

गढिमाइ खबर
208 पाठक संख्या पढ्न लाग्न समय 3 मिनेट
पढ्न लाग्न समय 3 मिनेट

कलैया : आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले तुरन्त राहत प्याकेज घोषणा गर्न माग गरेका छन्। सरकारले मधेसलाई विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको दुई हप्ता बितिसक्दा पनि राहत प्याकेज घोषणा नगरेको उनले जनाएका हुन्।

बाराको कलैयास्थित बारा उद्योग वाणिज्य संघको सभाहलमा आजपाद्वारा आइतबार आयोजित अगुवा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। जनताले केही पनि पाएका छैनन् उनले भने। तुरुन्त राहत प्याकेज घोषणा भएन भने ललिपप देखाएर मान्छेलाई मुर्ख बनाउने दुर्भाग्य हुने छ उनले भने।

चापाकल सुकेको छ। इनारमा पानी छैन। पानी नपरेर किसानको खेती भएको छैन। खेती भएपनि समयमा मल र सिचाईमा पानी नभएको अवस्था छ, उनले वर्तमान चित्रित गरे। जलसंकट देखिएपछि सरकारले मधेसका आठ जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेपनि राहतको कुनै प्याकेज ल्याउन नसकेको उनले जनाए।

राहत प्याकेज बिना सुख्खाक्षेत्र घोषणाले पीडितलाई झन पीडित बनाएकोे उनले बताए।जलसंकटले सर्वसधारणदेखी किसानसम्म मर्कामा परेको जनाउँदै विपद् संकटग्रस्त क्षेत्र घोषणाले अहिले सम्म केही राहत नपाएको जनाए।

सरकारको काम केवल संकटग्रस्त घोषणामात्रै हो भन्ने उनले प्रश्न गर्दै सरकारले पीडामा रहेका मानिसकोलागि राहतको प्याकेज कहिले ल्याउने भनी प्रश्न गरे। राहत प्याकेजको कुनै योजना नल्याउनु सरकारको नालायकीपन रहेको उनले जनाए। सरकारको जिम्मेवारी संकटग्रस्त क्षेत्र घोषणा गर्नु मात्रै नभएको उनले बताए।

पीडितलाई तत्काल राहत प्याकेज सहित पानीको समस्या समाधानमा सरकार लाग्नुपर्ने उनले सुझाव दिदै सरकारको ध्यानाकर्षण गराएका छन् । मधेसमा जलसंकट देखिएपछि बाराहुँदै हेलिकप्टरमा सैयर गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले पाँच सय डिपबोरिङ गाड्ने घोषणा गरेको उनले जनाए। हालसम्म एउटा पनि डिपबोरिङ नगाडिएको भन्दै उनको घोषणा हावादारी गफ मात्रै भएको उनले ठोकुवा गरे।

प्रधानमन्त्री ओलीले मधेसका जिल्लामा पाँच सय डिपबोरिङ गाडने आश्वासन दिएपनि दुई हप्ताभन्दा बढी समय बित्दा समेत सर्वसाधारणले डिपबोरिङ पाउँन नसकेको उनले जनाए। प्रधानमन्त्री ओली प्रति नकरात्मक हुदै उनले तीन हप्ता हुँदा समेत त्यो डिपबोरिङ कहाँ–कहाँ गाडनुभयो भन्दै प्रधानमन्त्रीसंग प्रश्न गरे। सरकारी निकाय, सिचाई।

खानेपानी मन्त्रालयलाई डिप बोरिङ्गबारे थाहा नभएको साहले बताए। न योजना छ, न बजेट छुट्याइएको छ भन्दै मधेसी जनतासंग यस्तो भद्धा मजाक गरिएको उनले आरोप लगाए। विदेशबाट महंगो मिनिरल वाटर मगाएर खाने गरेको भन्दै मधेसका जनताले साधारण पानी नपाएर तडपाउने काम गरेको उनले जनाए। आश्वासन नभई पीडित जनतालाई राहत प्याकज दिन उनले माग गरे।

सरकारले बिना राहतको संकटग्रस्त घोषण गरेर जनतालाई झन दुखित बनाएको उनले बताए। पीडामाथी मलहम लगाउने काम गर्न सरकारलाई उनले आग्रह गरे । विपद् संकटग्रस्त घोषणा भएको मधेशका गाउँमा भने कुनै राहत अहिले सम्म पुगेको छैन् ।

आजपा बाराका अध्यक्ष राजकिशोर साहको अध्यक्षतामा सो कार्यक्रम भएको हो। कार्यक्रममा आजपा केन्द्रीय कार्यालयका सदस्यहरु अशोक लामा, त्रिभुवन साह,केन्द्रिय आयोजक कमिटी सदस्य वसन्त चौधरी,कार्यालय सदस्य बिजय यादवको सो अवसरमा विशेष उपस्थिति थियो। उक्त कार्यक्रममा आम खेलकुद महासंघका अध्यक्ष राजु साह, मधेस प्रदेशका अध्यक्ष उमेश कुशवाहा,विद्यार्थी प्रदेश अध्यक्ष राकेश बैठा,बाराका सचिव रुप बहादुरको लगायत नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

सो कार्यक्रममा स्वागत आइटी आर्मी बाराका अध्यक्ष मानन्धर यादवले गरे। कार्यक्रमको संचालन आजपाका लाविन्द्र साहले गरेका थिए ।

साझा गर्नुहोस्