कलैया उपमहानगरपालिकाको मेयर चढने एक करोड १५ लाखको आयो नयाँ गाडी

गढिमाइ खबर
138 पाठक संख्या पढ्न लाग्न समय 2 मिनेट
पढ्न लाग्न समय 2 मिनेट

कलैया : कसले भन्न सक्छ कलैया उपमहानगरपालिकामा बजेटको अभाव छ। कलैया उपमहानगरपालिकामा पैसा फालाफाल रहेको र जनप्रतिनिधिको लागि पैसाको कुनै अभाव नरहेको पुष्टि भएको छ।

वडामा सिलिङ्गको कुरा गर्ने तर आफ्नो सुविधामा कुनै कमि नगर्ने प्रवृति कलैया उपमहानगरपालिकाको कामले प्रष्ट देखाएको छ। बाराको कलैया उपमहानगरपालिकाले अर्थ मन्त्रालयको निर्देशन लत्याउँदै नगर प्रमुखलाई चढ्नका लागि एक करोड १५ लाखको चारपाँग्रे गाडी खरिद गरेको प्रकरण प्रकाशमा आएको छ।

अर्थ मन्त्रालयले केन्द्रको मात्रै नभइ प्रदेश र स्थानीय तहमा पनि नयाँ गाडी खरिद नगर्नको लागि अनुरोध सहितको निर्देशन दिएकोमा सो निर्देशनको ठाडो उल्लंघन यस उपमहानगरपालिकाले गरेको छ।

समानीकरण अनुदान शीर्षकमा स्थानीय तहमा जाने बजेटबाट नयाँ गाडी खरिद गरिने गरेकोमा अर्थ मन्त्रालयले कडाइ गरेको भएपनि यही अनुदानको रकमबाट नगर प्रमुखलाई चढनको लागि महिन्द्राको स्कोर्पियो ‘एन’ मोडेलको चारपाँग्रे गाडी खरिद गरेको छ।

उपमहानगरपालिकामा पहिला देखि नै प्रमुख,उपप्रमुख र प्रमुख प्रशासकिय अधिकृत चढने तीनवटा गाडी रहेको छ। अहिलेका नगर प्रमुख जनता भन्दा पनि आफ्नो सुविधामा बढी ध्यान दिएको आरोप स्थानीय नागरिकहरुको रहेको छ।

अहिलेका जनप्रतिनिधि मुकुट विनाको राजा रहेको आरोप कलैया उपमहानगरपालिका वडा नम्बर ४ का पूर्व वडा अध्यक्ष जटाशंकर सहनीले लगाए।

कलैया उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नाथु साहले नगरको काम धेरै भएकोले आवश्यक्ता हेरेर गाडी खरिद गरिएको बताउछन्।

अर्थ मन्त्रालयले संघको कार्यालयलाई मात्र रोकेको जनाउँदै स्थानीय तहलाई गाडी खरिद गर्न नरोकेको साहको तर्क रहेको छ।

अर्थ मन्त्रालयले नयाँ गाडी खरिद नगर्न भनिरहँदा पनि कलैया उपमहानगरपालिकाले गाडी खरिद गर्न हुदैन्थ्यो तर अहिलेको व्यवस्थामा स्थानीय तहलाई नियमन गर्नका लागि स्पष्ट कानुन नभएर नियन्त्रण गर्न गाह्रो भएको कोष तथा लेखा नियन्त्रक कार्यालय बाराले जनाएको छ। कानुनको अभावले गर्दा यस्तो भएको कोलेनिकाले जनाएको छ।

गाडी प्रकरणले कही नभएको जात्रा हाँडी गाउँमा भन्ने उखानलाई कलैया उपमहानगरपालिकाले चरितार्थ गरेको छ ।

यता यस विषयमा कलैया उपमहानगरपालिका का नगर प्रमुख बिनोद प्रसाद साहसंग प्रतिक्रिया लिन खोज्दा उनी सम्पर्कमा आउन चाहेनन् ।

साझा गर्नुहोस्