सिमरा : “राष्ट्रको शान, धर्म र संस्कृति हाम्रो पहिचान“ भन्ने मूल नाराका साथ बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १७ रामनगरमा पहिलो पटक महोत्सव हुने भएको छ।
प्रथम रामनगर सोनाम ल्होछार महोत्सव २०८१ माघ १४ गतेदेखी माघ २० गतेसम्म रामनगर स्थित खेल मैदानमा हुने छ। उक्त महोत्सवको जीतपुरसिमरा उपमहानगरपालिकाका मेयर राजन पौडेलले उद्घाटन गर्ने कार्यक्रम रहेको छ।
विशेषगरी २८६१ औ ल्होसार पर्वको अवसर पारेर सो महोत्सव गरिने भएको हो। स्थानीय नेपाल तामाङ् घेदुङ वडा कार्यसमिति,सम्तेङ लिङ्ग गुम्बा र रामनगर युथ क्लबले महोत्सवको आयोजना गर्न लागेका महोत्सवका संयोजक समेत रहेका रामनगर युथ क्लबका अध्यक्ष साजन दोङ्गले जानकारी दिएका छन्।
महोत्सवको व्यवस्थापनमा लालिगुराँस कृयशन मिडिया प्रालि,मिडिया पार्टनरमा साझेदारी राष्ट्रिय दैनिक पत्रिका रहेको छ। संरक्षकमा जीतपुसिमरा उपमहानगरपालिकाको कार्यालय र वडा नम्बर १७ को वडा कार्यालय रहेको संयोजक दोङ्गले बताएका छन्।
महोत्सवको आकर्षकमा तामाङ्ग जातिहरुको परम्परागत झाँकीहरु रहेको छ। महोत्सवमा विभिन्न व्यापारिक स्टलहरु राखिने छ। मनोरन्जका लागि विभिन्न खेलतमासा, बालउद्यानको व्यवस्था गरिएको छ।
महोत्सवमा विभिन्न खानाका परिकारहरु,तामाङ्ग फुडसेस्टीबल समेत राखिने आयोजक कमिटीका कमल थिङ्गले बताए। महोत्सवको हरेक दिन तामाङ्ग कलाकारहरुको साथमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको गायन एवम् नृत्य प्रस्तुति रहने आयोजकले जनाएको छ।
महोत्सवमा मोडल तथा गायकहरु दुर्गेश थापा,ज्योति मगर,उर्गेन दोंङ्ग,मोडल तथा भोजपुरी नायिक प्रिति पासवान,गायक विशाल काल्तान, लोकेन लामा,चर्चित गायिका समिक्षा अधिकारी, जीतु लोप्चन,अनु चौधरी,एलिना चौहान,विन्दु परियार,भोजपुरी चर्चित गायक सुनिल पंडित,चर्चिक गायिका प्रिती आले,सोनु कस्मी लगायतको नृत्य तथा प्रस्तुति रहने छ ।
ग्रामीण स्थानहरुमा आयोजन हुने यस्तो महोत्सवले कला,संस्कृति र परम्परालाई जोगाई राख्ने र स्थानीय स्तरका पहिचान तथा गौरब बढाउन मद्दत पुग्ने जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १७ का वडाअध्यक्ष भिमबहादुर गंतानको भनाई छ।









