बारा जिल्लामा मदिरा बिक्री–वितरण बन्द, भारतीय सीमा नाका ३ दिन सिल

गढिमाइ खबर
162 पाठक संख्या

जिल्ला प्रशासन कार्यालय बाराले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ लाई स्वच्छ, निष्पक्ष, पारदर्शी र भयरहित वातावरणमा सम्पन्न गर्न विशेष सुरक्षा व्यवस्था लागू गरेको छ।

कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार मदिरा निषेधदेखि भारतीय सीमा नाका बन्दसम्मका कडा प्रावधान लागू गरिने भएको हो।

‎बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईद्वारा जारी सूचनाअनुसार निर्वाचन अवधिभर शान्ति सुरक्षा सुदृढ बनाउन निम्न निर्णयहरू लागू गरिएका छन्:

मदिरा निषेध
‎मिति २०८२ फागुन १५ गतेदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म बारा जिल्ला भर मदिरा लगायत सबै प्रकारका मादक पदार्थको ओसारपसार, बिक्री–वितरण तथा सेवन पूर्ण रूपमा निषेध गरिएको छ। उल्लंघन गर्ने व्यक्तिमाथि प्रचलित कानुन बमोजिम कारबाही गरिने विज्ञप्तिमा चेतावनी दिइएको छ।

भारतीय सीमा नाका ३ दिन बन्द
‎मिति २०८२ फागुन १८ गते सोमबार राति १२:०० बजेदेखि फागुन २१ गते बिहीबार राति १२:०० बजेसम्म बारा जिल्लाका भारतीय सीमासँग जोडिएका सबै नाका पूर्ण रूपमा बन्द गरिने जनाइएको छ।

सवारी साधन सञ्चालनमा कडाइ
‎फागुन २० गते राति १२:०० बजेदेखि मतदान कार्य सम्पन्न नभएसम्म अत्यावश्यक सेवा बाहेकका सबै सवारी साधन सञ्चालनमा रोक लगाइनेछ।
‎निषेधबाट छुट पाउने सेवाहरू:
‎* एम्बुलेन्स
‎* दुध तथा औषधी बोकेका सवारी
‎* खानेपानी ट्याङ्कर
‎* खानेपानी तथा ढल मर्मत सेवा
‎* दमकल
‎* दूरसञ्चार सेवा
‎* शव वहान
‎* अस्पताल सेवा
‎* सुरक्षा निकायका सवारी साधन
‎* विद्युत सेवा
‎* नम्बर प्लेटमा ‘सी.डी.’ उल्लेख भएका कूटनीतिक नियोगका सवारी
‎* प्रशासनबाट अनुमति प्राप्त सवारी साधन

साझा गर्नुहोस्