कलैया : दुर्घटना न्युनिकरण र सडक सुरक्षामा बाराको सुरक्षा संयन्त्रले कडाईका साथ काम गर्ने भएको छ ।
शुक्रबार जिल्ला समन्वय समितिको सभाकक्षमा आयोजित सरोकारवाला पक्षको भेलाले सडक सुरक्षाका लागि सवारी ब्यवस्थापन र चेकजाँचमा कडाई गर्ने निर्णय गरेको छ ।
जिल्ला सुरक्षा संयन्त्र प्रमुख समेत रहुनु भएका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीको अध्यक्षतामा जिल्लाको ट्राफिक ब्यवस्थापन सम्बन्धि सरोकारवालासँगको छलफलबाट यस्तो निर्णय भएको हो ।
निर्णयसँगै सडकमा हुने लापरबाही माथि कडा कार्वाही हुने भएको छ । साना,ठुला सवारीको ब्यवस्थापन,जथाभावी संचालन एवं पार्किङ, बिना लाइसेन्स,बिना हेल्मेट,अत्यधिक लोडगरी सवारी संचालन, क्षमता भन्दा बढी यात्रु बोकेर हिडडुल गरे जुनसुकै बेला कार्वाहीमा परिने छ । जेल सम्म जानु पर्ने अवस्था आउने भएको छ ।
सडकमा निर्माण सामाग्री राख्ने,पशु चौपाया छोड्न पाइने छैन । सडकमा जथाभावी पार्किङ गरे सवारी धनी र चालक कार्वाही पर्नेछन् ।
प्रेसर हर्न समेत बजार क्षेत्रमा निस्तेज गरिने भएको छ । भने पालिका स्थतरमा समन्वय गरि उचित पार्किङ्ग क्षेत्र तोकिने छ ।
सवारी धनी,ब्यवसायी र होटल संचालकहरुले आफ्ना सवारी वा सेवग्राहीका सवारी पार्किङ्ग आफैंले आफ्नो जग्गामा ब्यवस्थापन गर्नुपर्ने छ । सार्वजनिक सडकलाई ब्यवसायी प्रयोग गरे त्यसको जिम्मा स्वयम्ले लिनुपर्ने छ ।
भनसुनले काम नगर्ने भएकाले सडक धर्म निर्वाह गर्न बैठकले सबैमा अनुरोध गर्ने पनि निर्णय गरेको प्रमुख जिल्ला अधिकारी अधिकारीले जानकारी दिनु भयो ।
अटो,रिक्सा,मयूरीलाई मुख्य राजमार्गहरुमा गुड्न रोक लगाईने भएको छ । भने एउटा पालिकामा दर्ता भई संचालनमा रहेका यस्ता साना सवारीलाई अर्को पालिका भित्र संचालनमा भोलिबाटै रोक लगाईने भएको छ ।
यस्तै कलैयाको यातायात सहजताका लागि बसपार्कको प्रयोगलाई बाध्यकारी बनाईने र त्यसका लागि आवश्यक सहयोग कलैया उपमहानगरपालिकाले गर्ने पनि आजको बैठकमा निर्णय भएको प्रजिअ अधिकारीले बताउनु भयो ।
उक्त बैठकमा जिल्ला समन्वय समितिका सभापति,कलैया उपमहानगरपालिका नगर प्रमुख बिनोद साह,प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारी,नेपाली सेनाका प्रमुख सेनानी,जिल्लाका प्रहरी प्रमुख एपी महेन्द्र खड्का,प्रादेशिक टाफिक प्रहरी कार्यालय बारा पथलैयाका प्रमुख एसपी कार्की,नागरिक समाजका अध्यक्ष उमेशलाल दास उद्योग बाणिज्य संघ,नेपाल पत्रकार मसहासंघका प्रतिनिधि,विभिन्न एकदर्जनबढी साना ठुला यात्रु वाहक यातायात ब्यवसायी संगठनका प्रतिनीधिहरु छलफल कार्यक्रममा सहभागि थिए ।









