रौतहटमा स्कर्पियो दुर्घटना हुँदा आठ यात्रुको मृत्यु,पाँच जना घाइते

गढिमाइ खबर
203 पाठक संख्या पढ्न लाग्न समय 2 मिनेट
पढ्न लाग्न समय 2 मिनेट

रौतहट : ओम प्रकाश यादव/ रौतहटमा मंलगवार विहान दर्शनार्थी चढेको स्कर्पियो दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन ।

बाराको विश्व प्रसिद्ध महागढिमाई नगरपालिकामा लागेको पञ्चवर्षीय गढिमाइ मेला हेरेर सिरहा फर्किन लागेको स्कार्पियो रौतहटको चन्द्रनिगाहपुरमा दुर्घटना हुँदा आठ जना यात्रुको मृत्यु भएको हो ।

गढिमाई मेलाबाट फर्किदै गरेको बा १६ च ३१६२ नम्बरको स्कर्पियो जिल्लाको चन्द्रपुर नगरपालिका –४ पूर्वपश्चिम राजमार्ग स्थित धन्सर पुल नजिकैको जंगलमा रुखमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गाडीमा सवार ८ जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । दुर्घटनामा मृत्यु हुने र घाइते भएका सबै यात्रु सिरहाकै रहेको छ । मृत्यु हुनेहरुमा ७ जना महिला र एक जना पुरुष रहेका छन् ।

दुर्घटनामा मृत्यु हुनेहरुमा सिरहाको अर्नामा गाउँपालिका –३ बंठियाटोलका ६० वर्षिया लरुवती देवी महरा,सोही टोलका ३० वर्षिया उर्मिला महरा,५० वर्षिया रामकुमारी महरा,५५ वर्षिया महंगी देवी महरा,६२ वर्षिया फुलमन्ती देवी चमार,६० वर्षिया रामकुमारी देवी महरा,३० वर्षिया सकुन्तला देवी महरा रहेका छन ।

त्यस्तै गाडी चालक सिरहाकै अर्नामा गाउँपालिका –५ बलुवाटोल घर भएका ४० वर्षिय श्रीकुमार यादवको पनि मृत्यु भएको छ ।

त्यस्तै दुर्घटनामा परेर सिरहाको अर्नामा गाउँपालिका –३ का उमेश रामको श्रीमति ३० वर्षिया राधा राम,उमेश रामकै छोरा २ वर्षका आर्यन राम,सोही ठाउँका गणेश रामको २५ वर्षिया श्रीमति देव कुमारी महरा,गणेशको छोरा ७ वर्षका रितिक महरा र ६० वर्षिया कन्या देवी महरा घाइते भएको प्रहारीले जनाएको छ ।

घाइते भएका मध्ये चार जनाको अवस्था सामान्य रहेको छ भने गम्भीर घाइते भएकी कन्या देवी महरालाई चपुरमा सामान्य उपचार पछि थप उपचारका लागि बयोधा अस्पताल विरगंज रेफर गरिएको छ ।

उनिहरु गढिमाई मेलामा सहभागी भई आफना घर सिरहा फर्किन लागेको बेला अत्याधिक हुस्सुका कारण राति सबा १ बजेको समयमा रुखमा गाडी ठोक्किएर दुर्घटनामा परेको बताइएको छ ।

दुर्घटनामा परेका गाडी पूर्णरुपमा क्षतिग्रस्त भएको छ । गाडीलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा राखिएको र घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक (डएसपी) दिपक कुमार रायले जानकारी दिएका छन् ।

साझा गर्नुहोस्