कलैया उपमहानगरपालिकाले वातावरण संरक्षण कर लिन थालेको विरोधमा बाराका टिपर ब्यवसायी तथा टिपर चालकहरुले नौ घण्टा सडक अवरुद्ध गरेकाछन्।
उनीहरुले मानवत मटिअर्वा सडक खण्ड अन्र्तगत कलैया उपमहानगरपालिका २ औधापुर स्थित महावीर मन्दिर चोकमा टिपर बाटोमा तेस्र्याएर सडक अवरुद्ध गरेका हुन्।
आईतबार बिहान सात बजे देखि अपरान्ह चार बजे सम्म करिब एक सयको हारहारीमा रहेका टिपर चालकहरुले सडक अवरुद्ध गरेका हुन्।
नेपाल सरकारले पटके सवारी कर काटन निषेध गरेपछि कलैया उपमहानगरपालिकाले वातावरण संरक्षण कर लिन थालेपछि आन्दोलनमा उत्रिनु परेको कलैयाका टिपर ब्यवसायी ओमशंकर साहले साझेदारी दैनिकलाई जानकारी दिए।
कलैया उपमहानगरपालिकाले बडहर्वा,श्रीपुर,औधापुर,रामपुर,मनगढवा लगायतको स्थानमा कर संकलन ढाट राखेर कर संकलन गरिरहेको छ। यस्ले टिपर ब्यवसायीलाई अनावश्यक दुःख दिने गरेको ब्यवसायी साहले गुनासो गरे ।
कलैया उपमहानगरपालिकाले रु १४१,निजगढ नगरपालिकाले रु ३३९,कोल्हवी नगरपालिकाले रु १७५ रुपैयाँ कर लिने गरेको टिपर चालक जागेश्वर पटेलले जानकारी दिएका छन्।
कलैया उपमहानगरपालिकामा सुमन निर्माण सेवाले ठेक्का लिएको चालक पटेलले बताए।कलैया उपमहानगरपालिका,जिल्ला प्रशासन कार्यालय बारा र टिपर ब्यवसायी बीच छलफल गर्ने सहमतिमा उनीहरुले सडक अवरोध हटाएकोे जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।









