ओम प्रकाश यादव/
आर्थिक वर्ष २०८०/०८१ मा रौतहट प्रहरीबाट २३ हजार भन्दा बढीले लिए सेवा लिएको जिल्ला प्रहरी कार्यालय गौर रौतहटले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयले मंगलवार सार्वजनिक गरेको एक वर्षको कार्यको प्रगति विवरणमा उक्त कुरा उल्लेख गरिएको छ । कार्यालयले एकबर्षमा गरेको मुख्य–मुख्य कार्यको प्रगति विवरण सार्वजनिक गरेको हो ।
सार्वजनिक गरिएको प्रगति विवरण अनुसार एक वर्षमा विभिन्न कसुर र अपराधको गरी १ हजार भन्दा बढी मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । यो एक बर्षे अवधिमा रौतहट प्रहरीमा कुल १ हजार ७७ मुद्दा दर्ता भएको रौतहटका प्रहरी उपरीक्षक (एसपी) दीलिप घिमिरेले बताएका छन् । दर्ता भएका मुद्दाहरु मध्ये ६ सय ५२ मुद्दा फर्छ्यौट भइसकेको उपरिक्षक घिमिरेले बताए ।
यसैगरी साल २०८० साउनदेखी २०८१ असार मसान्तसम्म चोरी,तस्करी,हत्या,हिंसा,बलात्कार,लागु औषध,जाली नोटको कारोवार,हुण्डी कारोवार लगाएतको विभिन्न अपराधमा संलगन ७ सय १५ जनालाई पक्राउ गरिएको जनाईएको छ । प्रहरीले फैसला कार्यान्वयन गर्दा पक्राउ परेका मध्ये ६ सय ८८ जनामाथी मुद्दा दर्ता गरी कार्यवाही गरिएको प्रगति प्रतिवेदनमा उल्लेख छ ।
कारवाही गरिएकाहरु मध्येबाट १ सय ७ वर्ष ५ महिना २१ दिन कैद सजाय पाएको र यो अवधिमा झण्डै ३८ लाख ४८ हजार ७ सय ७८ रुपैयाँ जरिवाना असुल भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यता रौतहट प्रहरीले एकबर्षमा श्रोत नखुलेको रकम सहित ६ जनालाई पक्राउ गरिएमा उनीहरुबाट रु ३० लाख ६५ हजार ६ सय ६० रुपैयाँ बरामद गरिएको पनि जनाएको छ ।
भन्सार छली भारतबाट विभिन्न मालसामानको तस्करी गर्दै गरेको अवस्थामा मोटरसाइकल,बोलेरो,ट्रक,टेम्पो,कार,स्कुटर र साइकल गरी १ सय ४१ वटा सवारी साधन नियन्त्रणमा लिइएको र सो क्रममा ४४ जनालाई पक्राउ गरिएको विवरणमा उल्लेख छ ।
विभिन्न मुद्दा र कसुरमा पक्राउ परेकाहरुमाथी कार्यवाही गर्दा एक वर्षमा ४ करोड ९१ लाख ९३ हजार ४ सय ५६ रुपैयाँ राजस्व संकलन भएको प्रगति विवरण देखिन्छ । रौतहटमा मिटर व्याज सम्बन्धी १ हजार ५ सय ७५ उजुरी परेकोमा ४८ वटा मात्र फर्छ्यौट भएको जनाईएको छ । ५ हजार १७ उजुरी तथा ठाडो निवेदन दर्ता भएको र त्यस मध्ये ४ हजार २ सय फर्छ्यौट भइसकेको छ । जिल्ला प्रहरी कार्यालय गौरको प्रगति विवरणमा उल्लेख छ ।
जघन्य अपराधतर्फ विभिन्न १३ वटा मुद्दामा सफल अनुसन्धान गरी दोषी अर्थात अपराधीलाई पक्राउ गरी कार्यवाहीको दायरामा जिल्ला प्रहरी कार्यालय सफल भएको रौतहट प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक डएसपी एलिजा गिरीले बताईन । रौतहट जिल्लाभरीको प्रहरी कार्यालयहरुबाट यो आर्थिक वर्षको अवधिमा कुल २३ हजार ५ सय ६९ जना सेवाग्राहीलाई सेवा प्रदान गरिएको प्रवक्ता गिरीले जानकारी गराईन ।