कलैया : बारामा गाउँपालिकामा भएको तोडफोड आरोपमा बारा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले जिल्लाको आदर्शकोतवाल गाउँपालिका–१ चिउटाहाका सामाजिक अभियानता ३० वर्षीय प्रदीप प्रसाद कुशवाहा,वडा नम्बर ५ का अन्दाजी ३५ वर्षीय दिवेश सिंहलाई शुक्रवार पक्राउ गरेको हो ।
उनीहरुलाई आर्दश कोतवाल गाउँपालिकाको कार्यालयमा तोडफोड तथा तालाबन्दी घटनाको विषयमा छानबिनका लागि पक्राउ गरेको जनाएको छ । प्रहरीले आपराधिक उपद्रव मुद्दामा आवश्य अनुसन्धान गरिरहेको बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले बताएका छन ।
आदर्शकोतवाल गाउँपालिकाकमा भएको तोडफोड तथा तालाबन्दी घटनाको विषयमा छानबिनका लागि गाउँपालिका अध्यक्ष जवाहर प्रसादले दिएको जाहेरीको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ जनाएको छ । प्रहरीले उनीहरुलाई आपराधिक उपद्रव सम्बन्धि मुद्दा दर्ता गरि जिल्ला अदालत बाराबाट ५ दिनको थप म्याद लिइ थप अनुसन्धान गरिरहेको प्रवक्ता पण्डितले जानकारी दिए ।
यता स्थानीयका अनुसार प्रहरीले दुबै जनालाई वार्ता गर्न बोलाएर पक्राउ गरेको भन्दै विरोध गरिरहेका छन । उनीहरुले अविलम्ब बिना सर्त रिहाइ नभए आन्दोलन चर्काउने समेत चेतावनी दिएका छन् ।









