वीनलाई शहीद घोषणा गर्न माग गर्दै बाराका प्रमुख जिल्ला अधिकारी सापकोटालाई ज्ञापन

गढिमाइ खबर
पढ्न लाग्न समय 3 मिनेट

प्रहरीको गोली टाउकोमा लागि मृत्यु भएका २५ वर्षीय लक्ष्मीमुखिया वीनलाई शहीद घोषणा गर्न लगायत छ बुँदे माग गर्दै बिहीवार ज्ञापनपत्र दिइएको छ ।

सिम्रौनगढ नगरपालिकाका पूर्व नगरप्रमुख बिजयशंकर यादवको नेतृत्वमा रहेको टोलीले बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटालाई ज्ञापनपत्र बुझाएको हो ।

सिम्रौनगढ नगरपालिकाका नगरप्रमुख किशोरी प्रसाद कलावरमाथि कर्तव्य ज्यानको मुद्दा दर्ता गर्नुपर्ने माग ज्ञापन पत्रमा गरिएको छ । यस्तै मृतकका आश्रितलाई क्षतिपूर्ति तथा परिवारको व्यवस्थापन एवम् रोजगारको प्रत्याभूति दिनुपर्ने माग सो ज्ञापनपत्रमा गरिएको छ ।

इलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रहरी निरीक्षक रविभुषण यादवलाई निलम्बन गरी आवश्यक कारवाही गर्नुपर्ने तथा उनको कल डिटेल निकाल्नुपर्ने माग ज्ञापनपत्रमा गरिएको छ ।

माँगहरु २४ घण्टा भित्रमा सम्बोधन नगरे सशक्त आन्दोलन गर्ने चेतावनी समेत ज्ञापनपत्र मार्फत दिइएको छ । आन्दोलनबाट सृजित सबै घटनाका जिम्मेवार प्रहरी प्रशासन स्वयं आफै हुने उक्त ज्ञापन पत्रमा लेखिएको छ ।

सिम्रौनगढ नगरपालिका वडा नम्बर १ नमसंग्राढाटमा बस्ने लखिन्द्र मुखियाको २५ वर्षीय छोरा लक्ष्मी मुखिया विनलाई विश्वव्यापी मानवअधिकारको आधारभूत सिद्धान्त समेतलाई ख्याल नगरी टाउकोमा गोली हानी हत्या गरेको घटना प्रति गम्भीर ध्यानाकर्षण भएको सो ज्ञापनपत्रमा लेखिएको छ ।

सिम्रौनगढ नगरपालिकाको विषयलाई लिएर दुई पक्ष बीच सामान्य विवाद हुदा समेत इलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रहरी निरीक्षक यादवले शान्तिपूर्ण आन्दोलनमा बसेका आन्दोलनकारीहरु माथि लाठी चार्ज गरी कुटपिट गर्दै गोली चलाउने सम्मको काममा उद्दत भई व्यक्तिको ज्यानै जाने काम गरेको घटनाप्रति ज्ञापनपत्र मार्फत दुखः व्यक्त गरिएको छ ।

कानूनी राज्यमा कानूनको बर्खिलाफ गरी शान्तिपूर्ण आन्दोलनमा क्रुरतापूर्वक प्रहरीले अत्याधिक बलप्रयोग गरी लाठी चार्ज गरेको घटनाको निन्दा गरिएको छ ।अश्रुग्यास, हवाईफायर गरी आन्दोलनलाई दमन गर्ने कामको निन्दा ज्ञापनपत्र मार्पmत गरिएको छ । शान्तिपूर्ण आन्दोलनलाई प्रहरीद्वारा नै विथोल्नु र मान्छेलाई टाउकोमा ताकि गोली हान्नु घटनाले स्तब्ध पारेको ज्ञापनपत्रमा लेखिएको छ ।

सिम्रौनगढ नगरपालिकामा कार्यरत स्थायी,अस्थायी,ज्यालादारी, करारका सम्पूर्ण कर्मचारीहरु असुरक्षित महसुश गरिरहेको हुँदा सुरक्षाको प्रत्याभूति तथा शान्ति कायम गर्न प्रहरी प्रशासनको ज्ञापनपत्र मार्पmत ध्यानाकर्षण गराइएको छ ।

ज्ञापन पत्रमा स्थायी शिक्षकहरुको तर्फबाट शिक्षक संघका अध्यक्ष उमाशंकर प्रसाद यादव,करार कर्मचारीहरुको संघर्ष समितिका अध्यक्ष नितेश कुमार यादव,स्वास्थ्यकर्मीहरुको संघर्ष समितिको अध्यक्ष मनु यादवेन्द्र,सिम्रौनगढ नगरपालिकाका नगरउपप्रमुख नजबुन शेहर वडा नं. १ का वडाध्यक्ष दिनदयाल सहनी,२ का वडाध्यक्ष अरविन्द मुखिया,३ का वडाध्यक्ष ऐजुल्लाह अंसारी,४ का वडाध्यक्ष अवधेश सहनी,५ का वडाध्यक्ष जयमंगल कुशवाहा,९ का वडाध्यक्ष रामएकवाल यादव,१० का वडाध्यक्ष राजकुमार यादव र ११ का वडाध्यक्ष सुरेन्द्र प्रसाद जयसवाल लगायतकाको हस्ताक्षर रहेको छ ।

उनीहरु ज्ञापनपत्र दिन जाने टोलीमा समेत सहभागि थिए । उक्त ज्ञापन पत्रको बोदार्थ प्रधानमन्त्रीको कार्यालय,सिहदरबार र गृह मन्त्रालय सिंहदरबार काठमाण्डौमा पठाइएको छ ।

साझा गर्नुहोस्
Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *