रञ्जन यादव/
जीतपुरसिमरा उपमहानगरपालिकाको सिमरामा करिब २१ करोडको लागतमा १५ शैयाको अस्पताल निर्माण भईरहेको छ ।
हालमा अवस्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तर बृद्धि गर्दै ११ कठ्ठा जग्गमा १५ शैयाको अस्पताल बन्न लागेको जीतपुरसिमरा उपमहानगरपालिकाको कार्यालयले जनाएको छ ।
उपमहानगरपालिको नगर प्रमुख राजन पौडेलले आफुले गर्नुपर्ने कार्यको पहिलो सुचिमा नै मानिसको जीवनमरणसँग प्रत्यक्ष रुपमा सम्बन्धित अति आवश्यक अस्पताललाई दिएको बताए ।
जीतपुरसिमरा उपमहानगरपालिकाको टिम अस्पताल निर्माण कार्यलाई गम्भिरता पुर्बक लिएर लागि परेका कारण निर्धारित समय भन्दा अगाडी नै अस्पताल निर्माण कार्यलाई पुर्णता दिने नगर प्रमुख पौडेलले जानकारी दिए ।
अस्पताल निर्माणको लागि आश्यक डि.पि.आर समेत उपमहानगरपालिकाले तयार पारि सकेको छ । अस्पातल निर्माण गर्न एच.टि. सि.कन्स्ट्रक्ट बुधनगर काठमाडौँलाई २० करोड ५५ लाख ३७ हजार ३ सय २८ रुपैयामा ठेक्का दिएको छ ।
दुई बर्ष भित्र निर्माण गरिसक्नु पर्ने लक्ष्य राखिएको १५ शैयाको अस्पतालको निर्माण गर्न ४ तल्लाको भवन निर्माण हुने सिभिल ईन्जिनीयर अभय झाले जानकारी दिए ।
भुई तल्लामा ओ.पि.डि.,ईमरजेन्सी,प्याथोलोजी सेवा प्रदान गरिन्छ भने पहिलो तल्लामा प्रसुती गृह ,दोस्रो तल्लामा बिरामी भर्ना र अपरेसन कक्ष र तेस्रो तल्लामा प्रशासनिक र बैठक कक्ष सञ्चालन हुने ईन्जिनीयर झाले बताए ।
अस्पतालमा केन्टिङ्ग,गाडि पार्किङ्ग,पार्क,फोहर ब्यवस्थापन र शब दहन गृह निर्माण गर्ने अस्पतालको डि.पि.आरमा रहेको छ ।
अस्पतालका लागि आवश्यक बिशेषज्ञ सहितको जनशक्ति करारमा परिपुर्तिको लागि उपमहानगरपालिकाले सुचना आहवान गर्ने गृहकार्यमा लागेको जनस्वास्थ्य प्रबद्र्धन शाखाका प्रमुख रबि भाष्करले जानकारी दिए ।
जीतपुरसिमरा उपमहानगरपालिकामा सरकारी तवरबाट सञ्चालित एउटा पनि अस्पताल नहुँदा नगरबासी उपचार गराउँन बिरगंज,हेटौडा,चितवन,काठमाडौ लगायतको ठाउँमा जान्नुपर्ने बाध्यता छ ।