सुभाष कुमार मिश्र,/
मुसा मार्ने औषधी खाँदा दुई नबालकको मृत्यु भएको विषयलाई लिएर रौतहटको मध्य भाग गरुडामा सोमवार प्रदर्शन भएको छ ।
मुसा मार्ने औषधी खाएर जिल्लाको देवाही गोनाही नगरपालिका वडा नं. ५ टिकुलियाका संजय मुखियाका ५ बर्षिय छोरा आकाश मुखिया र ३ वर्षीय छोरा विकास मुखियाको गएको आईतवार मृत्यु भएको थियो ।
पिडित परिवार र स्थानीयहरुले घटना शंकास्पद भएको भन्दै दोषीलाई कार्यवाहीको माग गर्दै मृतक दुबै जना बालकको शवसहित गरुडामा विरोध प्रदर्शन गरेका छन ।
रिसिवीका कारण गाउँकै स्थानीयले विष खुवाई दुवै बालकको हत्या गरेको परिवारजनले आरोप लगाउँदै प्रदर्शन गरेका छन ।
पुरानो रिसिवी साध्न कसैले दुवै नाबालकलाई विष खुवाएर हत्या गरेको भन्दै पिडित परिवार सहित स्थानीय बासिन्दाहरुले दोषिलाई तत्काल समात्नुपर्ने माग गर्दै सोमवार गरुडामा प्रदर्शन गर्नुका साथै एक घण्टा चक्का जाम समेत गरेका थिए ।
प्रदर्शनपछि प्रहरी र प्रदर्शनकारीबीच ईलाका प्रहरी कार्यालय गरुडामा भएको छलफलमा घटनाको गहनरुपमा अनुसन्धान गरि दोषीलाई कारवाहीको दायरामा ल्याउने सहमति भएको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख एवं प्रहरी नायव उपरीक्षक डिएसपी श्रीराम भण्डारीले जानकारी दिएका छन ।
बालकलाई मुसा मार्ने औषधी कसले खुवायो वा आफैले खाए भने विषयमा गहन अनुसन्धान गरिरहेको र अनुसन्धानपछि सत्यतथ्य बाहिर ल्याउने डिएसपी भण्डारीले बताए ।
इलाका प्रहरी कार्यालय गरुडाका अनुसार वैदेशिक रोजगारीको शिलशिलामा साउदी अरबमा रहेका संजय मुखियाको दुवै छोराले शनिवार बिहान ८ बजेको समयमा आफनै घरको छेउमा खेल्दै गरेको अवस्थामा मुसा मार्ने विसादी औषधी खाए थिए ।
औषधी खाएका दुबै नबालकको अवस्था गम्भिर भएपछि उपचारका लागि परिवारजनले शिवनगर स्थित संजीवनी अस्पतालमा लगेको थियो ।
तर त्यहाँ पनि उपचार सम्भव नभएपछि गरुडामा रहेको अनामिका अस्पतालमा रिफर गरिएको थियो ।
अनामिकामा पनि अवस्था सुधार नभएपछि पछि थप उपचारको लागि विरगंज स्थित तराई अस्पतालमा रेफर गरिएको थियो ।
तराई अस्पतालमा शनिबार राती कान्छो छोरा विकास मुखिया र आइतबार बिहान जेठो छोरा आकाश मुखियाको उपचारको क्रममा मृत्यु भएको हो ।
मृतक दुवै नबालकको नारायणी अस्पताल विरगंजमा पोष्टमार्टम गरिएको प्रहरीले जनाएको छ ।
मृतक नबालकको आमा पंछिया देखि मुखियाले घटना भएकै दिन मेरो छोरालाई कसैले विषादी नखुवाएको प्रहरी समक्ष वयान दिएकी थिइन तर सोमवार आएर उक्त दुखद घटनालाई लिएर गरुडामा प्रदर्शन गरिरहदा सरोकारवाला पक्षहरुलाई राखेर चार दिन भित्र अनुसन्धान गरेर दोषिलाई पत्ता लगाउने प्रतिबद्धता जनाएपछि शव उठाउने सहमती भएको प्रहरीले जनाएको छ ।