सिमरा । बाराको सिमरा विमानस्थलबाट काठमाडौंका लागि उड्न लागेको बुद्ध एयरको जहाज इन्जिन स्टार्ट नभएपछि विमानस्थलमै ग्राउन्डेड भएको छ। उडानअघि नै इन्जिनमा समस्या देखिएपछि यात्रुहरूलाई जहाजबाट ओरालिएको हो।
बुद्ध एयरको उडान नम्बर ५६० को एटीआर–७२ विमान बुधबार अपराह्न ४:४५ बजे सिमराबाट काठमाडौंका लागि उड्नुपर्ने थियो। तर, विमान साँझ ५:११ बजे सिमरा विमानस्थलमा अवतरण गरेपछि यात्रु चढाएर उडानको तयारी गरिँदा इन्जिन स्टार्ट हुन सकेन।
इन्जिन स्टार्ट नभएपछि जहाज उड्न नसक्ने अवस्था देखिएसँगै यात्रुहरूलाई विमानबाट ओरालेर विमानस्थलमै रोकिएको हो। घटनापछि काठमाडौं जाने तयारीमा रहेका करिब ४० जना यात्रु अलपत्र परेका छन्।
कलैयाका यात्रु ओमशंकर प्रसादले उडानअघि नै समस्या देखिनु ठूलो दुर्घटना टरेको अवस्था भएको बताए।
“भाग्यले उडान रोकिदियो। उडिसकेपछि इन्जिन बिग्रन्थ्यो भने के हुन्थ्यो होला ?” उनले प्रश्न गरे।
बुद्ध एयरका सिमरा स्टेशन प्रमुख सुरेश रेग्मीले विमानमा इन्जिनसम्बन्धी समस्या आएको पुष्टि गरे। उनका अनुसार समस्या समाधान नगरी जहाज उडाउन सम्भव नभएपछि विमान सिमरामै रोकिएको हो।
“इन्जिनमा समस्या आएकोले विमान उड्न सकेन। भोलि अर्को फ्लाइटमा काठमाडौंँबाट इन्जिनियर आएपछि मर्मत गरेर पठाउँछौँ,” रेग्मीले भने।
उनका अनुसार उडान रोकिएको विमानमा ४० जना यात्रु सवार थिए। उनीहरूलाई बिहीबार बिहान अर्को उडानमार्फत काठमाडौं पठाउने व्यवस्था गरिने बुद्ध एयरको भनाइ छ।
उडानअघि नै विमानको इन्जिन स्टार्ट हुन नसकेको घटनाले बुद्ध एयरको प्राविधिक परीक्षण तथा यात्रु सुरक्षामाथि समेत प्रश्न उठाएको छ।
आकाशमा उडेपछि समस्या देखिनुभन्दा विमानस्थलमै समस्या पत्ता लाग्नु यात्रुका लागि राहत भए पनि निर्धारित समयमै उडान हुन नसक्दा यात्रुहरूले अनावश्यक सास्ती बेहोर्नुपरेको छ।
उड्नुअघि इन्जिन नै स्टार्ट नभएको घटनाले ‘प्राविधिक परीक्षण कति भरपर्दो छ?’ भन्ने गम्भीर प्रश्नसमेत उठाएको छ।





