कलैया । बजारमा एलपी ग्यासको कृत्रिम अभाव, बढी मूल्य असुली र अव्यवस्थित वितरणको गुनासो बढेपछि जिल्ला प्रशासन कार्यालय बाराले ग्यास व्यवसायीमाथि कडाइ गर्ने निर्णय गरेको छ। प्रशासनले बुधबार ९ बुँदे निर्देशन जारी गर्दै जिल्लाभरका ग्यास उत्पादक, वितरक र डिलरलाई तत्काल कार्यान्वयन गर्नुपर्ने स्पष्ट मापदण्ड लागू गरेको हो।
प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रद्वारा जारी निर्देशनमा कुनै पनि व्यवसायीले आवश्यकताभन्दा बढी ग्यास मौज्दात राख्न, कृत्रिम अभाव सिर्जना गर्न वा सरकारले तोकेको मूल्यभन्दा बढी रकम लिएर बिक्री गर्न नपाइने उल्लेख गरिएको छ। यस्ता गतिविधि उपभोक्ता हितविपरीत हुने भएकाले कडाइका साथ नियन्त्रण गरिने प्रशासनले जनाएको छ।
प्रशासनले ग्यास वितरण प्रक्रियालाई व्यवस्थित बनाउन ‘खाली सिलिन्डर बुझाएपछि मात्रै भरिएको सिलिन्डर उपलब्ध गराउने’ प्रणाली अनिवार्य रूपमा लागू गर्न निर्देशन दिएको छ। यसले अनावश्यक सञ्चिति र कालोबजारी नियन्त्रणमा सहयोग पुग्ने विश्वास प्रशासनको छ।
निर्देशनअनुसार जिल्लाका सबै ग्यास विक्रेताले दैनिक बिक्री तथा मौज्दातको अभिलेख व्यवस्थित राख्नुपर्नेछ। आवश्यक पर्दा सो विवरण सम्बन्धित निकायलाई उपलब्ध गराउनुपर्ने व्यवस्था पनि गरिएको छ।
प्रमुख जिल्ला अधिकारी मिश्रले बजार अनुगमनलाई थप प्रभावकारी बनाइने जानकारी दिँदै निर्देशिका उल्लंघन गर्ने व्यवसायीमाथि प्रचलित कानुनअनुसार कारबाही हुने चेतावनी दिएका छन्। उपभोक्तालाई सास्ती दिने, कृत्रिम अभाव सिर्जना गर्ने वा बढी मूल्य असुल्ने कार्य कुनै पनि हालतमा स्वीकार्य नहुने उनको भनाइ छ।
प्रशासनले सर्वसाधारणलाई पनि बजार अनुगमनमा सहकार्य गर्न आग्रह गरेको छ। ग्यासको कालोबजारी, अवैध मौज्दात, कृत्रिम अभाव वा उपभोक्ता ठगीसँग सम्बन्धित सूचना प्राप्त भए तत्काल प्रशासनमा जानकारी गराउन अनुरोध गरिएको छ।
यसका लागि सहायक प्रमुख जिल्ला अधिकारीको मोबाइल नम्बर ९८५५०४५४०३ वा ह्वाट्सएप नम्बर ९८५५००७७७८ मा सूचना उपलब्ध गराउन सकिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ। प्रशासनका अनुसार उपभोक्ताबाट प्राप्त सूचनाका आधारमा आवश्यक छानबिन र बजार अनुगमनलाई थप तीव्र बनाइनेछ ।





