गलत अपाङ्गता परिचयपत्र बनाएर भत्ता दिलाएको आरोपमा अख्तियारद्वारा पोखरीयाका तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

गढिमाइ खबर
34 पाठक संख्या

वीरगञ्ज । अपाङ्गता परिचयपत्रको विवरण सच्याएर सामाजिक सुरक्षा भत्ता दिलाई सरकारी रकम दुरुपयोग गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरिया नगरपालिकाका दुई कर्मचारीसहित तीन जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार तत्कालीन अधिकृत छैटौं तहका कर्मचारी सञ्जयकुमार पाण्डेय, अपाङ्गता शाखामा कार्यरत अम्बिका महतो खुल्वट तथा पर्साको पोखरिया नगरपालिका–१० निवासी महेन्द्र राउत कुर्मी विरुद्ध बिहीबार आरोपपत्र दायर गरिएको हो।

अख्तियारका अनुसार महेन्द्र राउत कुर्मीको अपाङ्गता वर्गीकरण सम्बन्धी स्वास्थ्य परीक्षण प्रतिवेदनका आधारमा २०७८ असोज ११ गते बसेको अपाङ्गता समन्वय समितिको बैठकले उनलाई सामाजिक सुरक्षा भत्ता नपाउने वर्गमा राख्ने निर्णय गरेको थियो। तर त्यसपछि नगरपालिकामा सुरक्षित रहने आधिकारिक अभिलेखमा रहेको विवरण सच्याई उनलाई भत्ता पाउने वर्गमा समावेश गरिएको अनुसन्धानबाट खुलेको आयोगले जनाएको छ।

अनुसन्धानका क्रममा सम्बन्धित कर्मचारीहरूले आपसी मिलेमतोमा परिचयपत्रको विवरण परिवर्तन गरी सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न मिल्ने गरी नयाँ विवरण प्रमाणित गरेको तथा त्यसकै आधारमा कुर्मीले सरकारी सुविधा लिएको अख्तियारको दाबी छ।

यसरी गलत विवरणका आधारमा कुल एक लाख ९१ हजार ५२० रुपैयाँ बराबरको सामाजिक सुरक्षा भत्ता वितरण भई सरकारी रकम हिनामिना भएको निष्कर्षसहित आयोगले तीनै जनाविरुद्ध भ्रष्टाचार निवारण ऐनअनुसार बिगो बराबर जरिवाना तथा सजायको माग गर्दै विशेष अदालतमा आरोपपत्र दर्ता गरेको जनाएको छ।

साझा गर्नुहोस्