परवानीपुरको बजेटमा ६०/४० को भागबण्डाः तालिममै सक्यो एक करोड बढी रुपैयाँ

गढिमाइ खबर
119 पाठक संख्या

बलिराम यादव/वीरगंज । बाराको परवानीपुर गाउँपालिकामा जनचेतना मूलक तालिम कार्यक्रमका अधिकांश तालिम कार्यक्रम नै नगरि लाखौं रुपैयाँ कमिसनमा सकाईएको खुलेको छ ।

विभिन्न गैर सरकारी संस्थाहरुसंग ६०/४० को भागबण्डामा नियम विपरित कार्यक्रम संचालन गरि तालिम लगायतमा मात्रै एक करोड भन्दा बढी रकम खर्चेर लाखौं रुपैयाँ कमिसनमा सकाईएको खुलेको हो ।

परवानीपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुन्ना साह रौनियारले आर्थिक वर्ष २०७९/८० र २०८१/८२ मा विकासे बजेटबाट सरकारको मापदण्ड विपरित तालिम लगायतका कार्यक्रम संचालन गरेर अधिकांश कार्यक्रम नै नगरि कामगजी मिलान गरेर लाखौं रुपैयाँ कमिसनमा सकाएको पाईएको हो ।

जनचेतना शिपमुलक जस्ता तालिम स्थानीयबाट माग भई आवश्यक मापदण्ड पुरा गरि संचालन गर्नुपर्नेमा परवानीपुर गाउँपालिकाका प्रमु्ख प्रशासकीय अधिकृत मुन्ना रौनियारले आफ्ना आसेपासे व्यक्तिलाई खडा गरेर स्थानीयको सुहभागिता बिनै नियम विपरित लाखौं रुपैयाँ कमिसनमै सकाएको स्थानीयको आरोप छ, जसलाई महालेखा परिक्षक कार्यालयको प्रतिवेदनले समेत प्रमाणित गरेको देखिन्छ ।

प्रमुख प्रशासकीय अधिकृत मुन्ना रौनियारले सरकारी मापदण्ड विपरित कार्यक्रम संचालन गर्दै सुनियोजित रुपमा गैरसरकारी संस्थामार्फत रकम खर्च गरेका छन् । सार्वजनिक खरिद ऐन २०६३ को दफा ५ मा कुनै पनि खरिद कार्यको लागत अनुमान तयार गर्नुपर्ने र सार्वजनिक खरिद नियमावली २०६४ को ६९ अनुसार परामर्श सेवा खरिद गर्दा कार्य क्षेत्रगत सर्त तयार गरी सो बमोजिम प्रस्ताव माग गर्नुपर्ने व्यवस्था छ ।

जसअनुसार संस्थाहरूको कार्य क्षेत्रगत सर्त, कार्यसंचालन विधि, तालिम सम्बन्धी माग सङ्कलन, अनुभव, तालिममा सहभागीको छनौट, समयावधी र लाग्ने रकमको लागत अनुमान तयार गरि तोकिएको खरिद प्रकृया पुरा गरि खरिद गर्नुपर्ने व्यवस्था छ ।

तर गाउँपालिका अधिकृत मुन्ना रौनियारले योजनागत लाभ लिने व्यक्ति र संस्थाहरुको सेटिङ्गमा सेवा प्रदायकको छनौंट सम्बन्धी कार्यक्षेत्रगत शर्त लगायतका नियम विपरित न्यून आर्थिक प्रस्ताव पेश गरेको आधारमा मोटो कमिसन दिएको गैरसरकारी संस्थाहरुको मिलेमतोमा मोटामोटी लागत अनुमान तयार गरेर संस्था छनौंट गरि सम्झौताको आधारमा तालिम संचालन गरी आर्थिक वर्ष २०७९/८० मा मात्रै विभिन्न एक दर्जन भन्दा बढी संस्थालाई ७३ लाख ७० हजार ९०० रुपैयाँ भुक्तानी गरेको पाईएको छ ।

यस्तै, आर्थिक वर्ष २०८१/८२ मा पनि तिनै अधिकृत रौनियारले पालिकाको कर्मचारीबाटै हुन सक्ने कार्य कोटेशन माग गरि एकै प्रकारका कार्य पनि फरक फरक संस्थासंग सम्झौता गरि खर्च देखाएका छन् । पालिकाले कर्मचारीलाई नियमित तलब भुक्तानी गर्ने र निजहरुले गर्न सक्ने कार्य बाह्य संस्थाबाट गराउँदा मितिव्ययी हुन नसक्ने भन्दै मलेपले प्रश्न उठाउँदै आए पनि मोटो रकमको सेटिङ्गमा योजना तथा कार्यक्रम बिक्री गर्ने चतुर मानिएका अधिकृत रौनियारले २०८१/८२ मा कोटेशन मार्फत बाह्य संस्थाबाट गराएको ५ वटा संस्थासंग तालिम कार्यक्रममा झण्डै २३ लाख खर्च गरेको केही उदाहरण सार्वजनिक गरेको छ ।

पालिकाबाट योजनागत लाभ लिने व्यक्ति र संस्थाहरुसंगको सेटिङ्गमा सेवा प्रदायकको छनौट सम्बन्धी कार्य क्षेत्रगत सर्त लगायतका नियम विपरीत न्युन आर्थिक प्रस्ताव पेश गरेको आधारमा मोटो कमिशन दिने संस्था छनौट गरी सम्झौताको आधारमा तालिम संचालन गरी विभिन्न गैर सरकारी संस्थाहरुलाई नियम विपरीत एक करोड भन्दा बढी रुपैयाँ भुक्तानी भएको आरोप छ । ऐन विपरीत गरेको यस कार्यलाई महालेखाले समेत औल्याएको छ ।

कोशेननमा यसरी बाँडियो रकम

महालेखा प्रतिवेदन अनुसार आ.व. २०७९/८० मा निम्न संस्थाहरुलाई निम्न शिर्षकमार्फत रकम दिईएको छः
१) संस्कृति एवम् सामाजिक विकास क्लब– बालबालिका नेतृत्व विकासको तालिमः रु २६००००
२) सृजनशिल व्यवसाय तालिम केन्द्र प्रा.लि.–एकैपटक ३ वटा तालिम संचालन गरेवापतः रु ११९७८००
३) राष्ट्रिय जनचेतना विकास केन्द्र – सिलाई कटाई तालिमः रु ४८४१३५
४) तराई डेभलपमेन्ट फाउण्डेशन नेपाल – एकल महिलाहरुलाई आय आर्जन सम्बन्धी तालिमः रु २४९६००
५) सबल नेपाल तालिम केन्द्र – दलित महिलाहरुलाई सशक्तिकरण तालिमः रु २४८६४०
६) पर्सा डेभलपमेनट प्रा.लि. – सेनेटरी प्याड बनाउने तालिमः रु ४९६०७०
७) पर्सा डेभलपमेन्ट प्रा.लि. – २० दिने व्युटिसियन तालिमः रु ४९६६३५
८) ग्रामिण प्रविधि केन्द्र प्रा.लि. – लैंङ्गिक समानता तथा सामाजिक समावेशिकरण सम्बन्धी तालिमः रु २९८२००
९) सक्सेस स्कील डेभलपमेन्ट फर्म – लोकसेवाको प्रथम पत्र कक्षा संचालनः रु ३९८४९४
१०) जन कल्याण डेभलपमेन्ट एण्ड एग्रीकलचर प्रा.लि. – सरसफाई सम्बन्धी कार्यक्रमः रु ४९८९५७
११) सक्सेस स्कील डेभलपमेन्ट फर्म – लोक सेवाको द्वित्तिय पत्रको कक्षा संचालन गर्नः रु ३९८४९४
१२) श्री साथी नेपाल – महिलाहरुको पाठेघर सम्बन्धी चेकजाँचः रु ५०००००
१३) सहयोगी नेपाल – सार्वजनिक सुनुवाई ः रु २०००००
१४) ग्रामिण सिप विकास तथा परामर्श केन्द्र – लैंङ्गिक हिंसा न्यूनिकरणका लागि महिला पुरुष तालिमः रु १९७८७५
१५) सृजनशिल व्यवसाय तालिम केन्द्र प्रा.लि. – प्राविधिक सिप मूलक तालिम र उद्यमीहरुको स्तरउन्नती तालिमः रु ११९७७८०
कुल जम्मा खर्च देखाईएकोः रु ७३७०९००

आ.व. २०८१/८२ मा निम्न संस्थाहरुलाई निम्न शिर्षकमार्फत दिईएको रकमको केही उदाहरण

१) सामाजिक विकास अभियान नेपाल– महिला हिंसा बिरुद्धको तालिम कार्यक्रम रु २९५२६९
२) जयहनुमान तराई विकास तथा सांस्कृतिक केन्द्र – बालबिबाह तथा दाईजो प्रथा बिरुद्धको जनचेतना मूलक कार्यक्रम रु ४९७१३३
३) अपूर्व नारायण फाउण्डेशन – विद्यालय व्यवस्थापन तथा सूचना प्रविधि सम्बन्धी तालिम रु ४९२३४८
४) सोसल स्कील प्रा.लि.– महिलाहरुको लागि आय आर्जन सिप विकास रु ४९४६००
५) रुलर एग्रो कन्सल्टेन्सी – महिलाहरुको लागि प्रजन्न रुग्णता रोग सम्बन्धमा शिविर रु ४९४७७१

माथि उल्लेखित विभिन्न संस्थाहरुसंग विभिन्न जनचेतना मूलक सम्बन्धी तालिम कार्यक्रमको कार्यदेश भन्दा पहिले नै कार्यक्रम दिईने वापत कुल बजेटको ४० प्रतिशत रकम लिएर ३ वटा फर्मसंगको न्युन कोटेशनमा बजेट दिई ६० प्रतिशत रकममा नास्ता र भत्ताको लोभमा केही मानिसहरुको सहभागिता देखाई सो रकम भ्रष्टाचार भएको पालिका स्रोतको समेत दाबी छ ।

अधिकृत रौनियारको ग्राण्ड डिजाईनमा अधिकांश कार्यक्रमको रकम नास्ता र भत्ता मात्र दिई घोटाला भएको पालिका स्रोतले जनाएको छ ।

यस विषयमा प्रमुख प्रशासकीय अधिकृत मुन्ना रौनियार जवाफदेही बनेका छैनन् ।

साझा गर्नुहोस्