हुलाक बचतकर्ताको रकम हिनामिना प्रकरणमा अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन दर्ता

गढिमाइ खबर
97 पाठक संख्या

कलैया । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतको फैसला विरुद्धमा सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ। जिल्ला हुलाक कार्यालय बाराका तत्कालीन नायब सुब्बा बलीरामप्रसाद कुर्मी (बलीराम प्रसाद) जोडिएको भ्रष्टाचार मुद्दामा उसले पुनरावेदन गरेको हो। विशेष अदालतले गरेको फैसला उपर चित्त नबुझी सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको छ।

हुलाक बचत बैंक बारामा बचतकर्ताहरूको रकम हिनामिना गरी भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले कुर्मी लगायतका प्रतिवादीहरू विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो। अख्तियारले पाँच करोड ३५ लाख ६४ हजार २७९ रुपैयाँ ३३ पैसा बिगो कायम गरी विशेष अदालतमा आरोपपत्र दायर गरेको थियो।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा बिगो असुल उपर र सजायको मागदाबी गरिएको थियो। उक्त मुद्दामा विशेष अदालतले गत २०८२ साल माघ २२ गते आंशिक सफाइ दिने फैसला सुनाएको थियो।

विशेष अदालतको उक्त फैसला उपर चित्त नबुझी आयोगले बिहीबार (वैशाख ३१ गते) सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गराएको प्रवक्ता सुरेश न्यौपानेद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ।

साझा गर्नुहोस्