सिम्रौनगढमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र भवन उद्घाटन

गढिमाइ खबर
20 पाठक संख्या

श्याम यादव
बारा, ३० बैशाखा।
इलाका प्रहरी कार्यालय सिम्रौनगढ परिसरमा नवनिर्मित महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र भवन उद्घाटन गरिएको छ। नेपाल प्रहरीका संगठन प्रमुख प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको प्रमुख आतिथ्यमा बुधबार उक्त भवन उद्घाटन गरिएको हो। भवन बेलायत सरकारको सहयोगमा निर्माण गरिएको हो।

उद्घाटन कार्यक्रममा महानिरीक्षक कार्कीले सिम्रौनगढ मिथिला सभ्यताको ऐतिहासिक स्थल भएकाले यहाँ निर्माण भएको सेवा केन्द्रले नागरिकलाई सहज सेवा प्रदान गर्ने विश्वास व्यक्त गरे। उनले प्रहरी कर्मचारीहरू परिवार र चाडपर्वबाट टाढा रहेर नागरिक सुरक्षामा खटिने भएकाले सेवाग्राहीमैत्री व्यवहार अपनाउन निर्देशन दिए।

उनले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको अधिकार, समानता र न्यायमा पहुँच सुनिश्चित गर्दै पीडितमैत्री सेवा प्रवाह गर्न प्रहरी कर्मचारीलाई आग्रह गरे।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले भवन मात्र ठूलो भएर नहुने भन्दै कार्यशैली र कार्यसंस्कृति पनि सोहीअनुसार सुधारिनुपर्ने बताए।

त्यसैगरी, युएनओपिएसका सिनियर इन्जिनियर शिशिर उपाध्यायले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए।

साझा गर्नुहोस्