पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित १४ जनाविरुद्ध ३ अर्ब ६२ करोड बिगोसहित भ्रष्टाचार मुद्दा

गढिमाइ खबर
47 पाठक संख्या

बारा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल निर्माणका क्रममा भ्रष्टाचार भएको आरोपमा तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की सहित १४ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगका अनुसार विमानस्थल निर्माणका क्रममा मूल सम्झौताविपरीत ठेकेदार कम्पनीलाई कर छुट दिई राज्यलाई अर्बौँ रुपैयाँ नोक्सानी पुर्‍याइएको ठहर गर्दै आरोपपत्र दायर गरिएको हो। आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीका अनुसार कुल ३ अर्ब ६२ करोड ५ लाख २२ हजार १६० रुपैयाँ बिगो दाबी गरिएको छ।

मुद्दामा तत्कालीन अर्थसचिव शङ्करप्रसाद अधिकारी, पर्यटन सचिव महेश्वर न्यौपाने, सहसचिवद्वय सुरेश आचार्य र दुण्डुराज घिमिरे, पूर्वसचिव (तत्कालीन सहसचिव) केबल भण्डारी, नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक सञ्जिव गौतम र निवर्तमान महानिर्देशक प्रदीप अधिकारी, उपसचिव युवराज पाण्डे, शाखा अधिकृत उर्मिला भण्डारी, इन्जिनियर योगेश अर्याललाई प्रतिवादी बनाइएको छ।

त्यस्तै, चिनियाँ निर्माण कम्पनी सिएएमसीका अध्यक्ष, परियोजना व्यवस्थापक र कम्पनी व्यवस्थापकविरुद्ध पनि मुद्दा दायर गरिएको आयोगले जनाएको छ।

साझा गर्नुहोस्