कलैया यातायात कार्यालयले स्मार्ट लाइसेन्स वितरण सुरु गर्ने

गढिमाइ खबर
6 पाठक संख्या

बारा । यातायात व्यवस्था कार्यालय कलैयाले सवारी चालक अनुमति पत्र (लाइसेन्स) को स्मार्ट कार्ड वितरण बिहीबारदेखि सुरु गर्ने भएको छ। कार्यालयका अनुसार नयाँ जारी, थप, नवीकरण तथा प्रतिलिपि (डुप्लिकेट) लाइसेन्सहरू यातायात व्यवस्था विभागबाट छपाइ भई प्राप्त भइसकेकाले वैशाख १७ गतेदेखि वितरण प्रक्रिया अघि बढाइनेछ।

कार्यालयले सेवाग्राहीलाई स्मार्ट लाइसेन्स लिन आउँदा आवश्यक कागजात अनिवार्य रूपमा साथमा ल्याउन आग्रह गरेको छ। पुरानो सवारी चालक अनुमति पत्र वा राजस्व तिरेको सक्कल रसिद बिना कार्ड उपलब्ध नगरिने स्पष्ट पारिएको छ। आवश्यक प्रमाणसहित उपस्थित भएमा प्रक्रिया सहज र छिटो हुने कार्यालयले जनाएको छ।

विशेष व्यवस्था स्वरूप वैशाख १८ देखि २० गतेसम्म सार्वजनिक बिदा परे पनि स्मार्ट लाइसेन्स वितरण कार्य भने निरन्तर सञ्चालन गरिनेछ। यसले सेवाग्राहीलाई थप सुविधा पुग्ने विश्वास गरिएको छ।

कार्यालय प्रमुख चिन्तन आचार्यका अनुसार नियमित रूपमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सेवा प्रवाह गरिनेछ। सेवाग्राहीको भीड व्यवस्थापन गर्न आवश्यक तयारी गरिएको र व्यवस्थित रूपमा वितरण कार्य अगाडि बढाइने जानकारी दिइएको छ।

लामो समयदेखि स्मार्ट लाइसेन्सको प्रतीक्षामा रहेका सेवाग्राहीहरूका लागि यो वितरण कार्यक्रम राहतको रूपमा लिइएको छ।

साझा गर्नुहोस्